काठमाडौं । सरकारले ९ जना सहसचिव र १३ जना उपसचिवको सरुवा गरेको छ । सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि परेका छन् ।
ललितपुर, धादिङ, अछाम, कास्की, गुल्मी र अर्घाखाँचीका सिडिओको सरुवा भएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई गृहमन्त्रालय ल्याएर त्यहाँ राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितलाई पठाइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा श्रम मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यलाई ल्याइएको छ ।
धादिङको प्रमुख जिल्ला अधिकारीमा बद्रीनाथ गैह्रे पठाइएका छन् । वासुदेव घिमिरेलाई कास्कीको सीडीओ बनाएर पठाइँदा शिवराम न्यौपाने अछामको सीडीओ भएका छन् ।
कमल राज ढकाल अर्घाखाँचीको सीडीओ बनेका छन् भने गुल्मीको सीडीओ बनाए। टेकबहादुर केसीलाई पठाइएको छ ।
गुल्मीमा सीडीओ रहेका सागरमणी पाठक र अछाममा सीडीओ रहेका लक्ष्मण ढकाल गृह मन्त्रालयमा तानिएका छन् । अर्घाखाँचीकी सीडीओ रहेकी मिना अर्यालको अध्यागमन कार्यालय गौतमबुद्ध विमानस्थल भैरहवामा सरुवा भएको छ ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व पुगेका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका उपसचिव कृष्ण पौडेलले जिल्ला प्रशासन कार्यालय तेह्रथुमको सहायक प्रजिअको जिम्मेवारी पाएका छन् । तेह्रथुमका सहायक सीडीओ मोहनप्रसाद अर्याल बर्दियाको सहायक प्रजिअ बनेर सरुवा भएका छन् ।
बर्दियाका सहायक सीडीओ रमेश पाण्डेय पनि गृह मन्त्रालयमा तानिएका छन् । अध्यागमन विभागका उपसचिव तुलाराज सुनुवार सुर्खेतको सहायक सीडीओ बनेका छन् ।
इलाका प्रशासन कार्यालय साँखुमा कार्यरत राजकुमार राई भोजपुरको सहायक सीडीओ बनेर गएका छन् ।
रोल्पाका सहायक सीडीओ ध्रुवप्रसाद कोइराला इलामको सहायक प्रमुख जिल्ला अधिकारी बनेका छन् । गृह मन्त्रालयमा कार्यरत उपसचिव बलराम ढकाल काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी बनेका छन्।
केन्द्रीय कारागार कार्यालयमा कार्यरत उपसचिव डोरेन्द्र निरौला भक्तपुरको सहायक सीडीओ बनेका छन् ।
FACEBOOK COMMENTS