काठमाडौ । संस्कृति इन्टरनेशनल स्कूलको १४ वर्षमुनिको फुटबल टोली डेनमार्कमा आयोजना हुने विश्वप्रसिद्ध डाना कप फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ।
विद्यालयको बालक टोलीले आगामी जुलाई २१ देखि २६ सम्म डेनमार्कको ह्योरिङ सहरमा आयोजना हुने सेभेन–ए–साइड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्नेछ।
यो प्रतियोगिता विश्वकै सबैभन्दा अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता मानिन्छ, जहाँ यस वर्ष मात्रै ४५ भन्दा बढी देशका करिब १,१०० टोलीहरू प्रतिस्पर्धा गर्दैछन्। संस्कृति टोलीको प्रशिक्षण र व्यवस्थापन औरियम स्पोर्ट्स एकेडेमीले गरिरहेको छ। हरेक वर्ष करिब २०,००० भन्दा बढी खेलाडी, प्रशिक्षक र रेफ्रीहरू एकै ठाउँमा भेला हुने यो प्रतियोगितामा १४ वर्षमुनिको समूहमा मात्रै १०० देखि १५० टोलीसम्मको सहभागिता हुने बताइएको छ। पाँच दिनसम्म राउन्ड–रोबिन चरणका खेलहरूपछि ए र बी फाइनल खेल हुने व्यवस्था गरिएको छ। प्रतियोगिता ५० भन्दा बढी घाँसे मैदानमा खेलाइनेछ र खेलाडीहरूको आवागमनका लागि शटल बस सेवा उपलब्ध हुनेछ। सहभागी टोलीहरूले स्थानीय विद्यालयमा बसोबास गर्ने हुँदा अन्तर्राष्ट्रिय मित्रता र सांस्कृतिक आदानप्रदानको अवसर समेत प्राप्त हुनेछ।
संस्थापक निर्देशक दीप्ति आचार्यका अनुसार डाना कपजस्तो अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न पाउनु विद्यालयका विद्यार्थीहरूको लागि ऐतिहासिक अवसर हो। उनले भनिन्, “यसले उनीहरूको प्रतिभा, अनुशासन र फुटबलप्रतिको उत्साह देखाउँछ। हामी केवल एउटा टोली मात्र होइन, नेपालका युवाहरूको आत्मविश्वास र एकताको सन्देश बोकेर जान लागेका हौं।”
टोलीका प्रमुख प्रशिक्षक रमेश महर्जनले खेलाडीहरूले निकै मेहनतपूर्वक तयारी गरेको जनाउँदै भने, “यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताबाट उनीहरूको सीप निखारिनेछ, सोचाइ फराकिलो हुनेछ र खेलप्रतिको बुझाइ अझ गहिरो बन्नेछ। संस्कृति स्कूलले शिक्षा र खेलकुदको सन्तुलनलाई सधैं प्राथमिकतामा राख्दै आएको छ।”
डाना कपमा सहभागी टोलीमध्ये अधिकांश टोली अन्तर्राष्ट्रिय हुने भएकाले प्रतियोगितालाई खेल मात्र नभई सांस्कृतिक आदानप्रदानको उत्सवको रूपमा समेत लिइन्छ। विभिन्न क्लबका स्काउट र प्रशिक्षकहरूले उदीयमान प्रतिभाहरूको खोजी गर्ने यो उत्कृष्ट अवसर पनि हो। प्रतियोगिताबाट संकलित आम्दानी स्थानीय खेल गतिविधिमा लगानी गरिन्छ, जसले सामुदायिक खेल विकासमा समेत टेवा पुर्याउँछ। यसले टिमवर्क, सहिष्णुता र विश्वनागरिकताको अनुभव गराउने अवसरसमेत प्रदान गर्ने आयोजकले जनाएको छ।
सन् २०१० मा स्थापना भएको संस्कृति इन्टरनेशनल स्कूल काठमाडौंमा अवस्थित छ। विद्यालयले शैक्षिक उत्कृष्टतासँगै खेलकुद र सिर्जनात्मक गतिविधिमा जोड दिँदै विद्यार्थीहरूको समग्र विकासमा प्राथमिकता दिँदै आएको छ। हाल विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सफल उपस्थिति जनाउँदै आएको छ। संस्कृति इन्टरनेशनल स्कूल दक्षिण एसियाको एकमात्र क्ष्एऋ मान्यता प्राप्त संस्था समेत हो।
FACEBOOK COMMENTS