वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गरि भारतको सिक्किममा शोक सभा सम्पन्न गरेको छ । सिक्किम नेवाः गुथि तथा नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालयले संयुक्त रूपमा कार्यक्रम सम्पन्न गरेको हो ।
जोशी गत २०२२ अक्टोबर १६ तारिखमा १०३ बर्षको उमेरमा नेपालको किष्ट अस्पतालमा निधन भएका हुन् ।
कार्यक्रममा सिक्किम नेवाः गुथिका पूर्व अध्यक्ष दिलु कुमार प्रधानले डा. जोशीसँगको भेटवार्ताको अनुभव र उनको जीवनी बारे चर्चा गरे ।
उनले सिक्किममा “सत्यमोहन जोशी स्मृति पुस्तकालय“ स्थापना गर्ने घोषणा समेत गरे । त्यस्तै, कार्यक्रममा वरिष्ठ साहित्यकार प्रधुम्न श्रेष्ठले शताब्दी पुरुष डा. सत्य मोहन जोशीको जीवनी र कृति बारे चर्चा गरे ।
उनले जोशीका प्रकाशित कृतिहरु अध्ययन गर्नुपर्नेमा जोड दिए । त्यस्तै, विद्यालयका प्राचार्य विकास प्रधानले डा. जोशीबाट लिइएको ज्ञानको स्मरण गर्दै आफ्नो मातृभाषा र संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकास गर्ने प्रेरणा पाएको बताए ।
कार्यक्रमको सुरूमा जोशीको आत्मशान्तिको लागि कामना गरि मौन धारण गरिएको थियो । सो पश्चात् फोटोमा माला अर्पण गरेर श्रद्धाञ्जली चढाइएको थियो ।
कार्यक्रममा सिक्किम नेवाः गुथिका पूर्व अध्यक्ष एवं नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालय सिक्किमका अध्यक्ष भाजु दिलु कुमार प्रधान, वरिष्ठ साहित्यकार प्रधुम्न श्रेष्ठ, विद्यालयका प्राचार्य विकास प्रधान, विनित प्रधान तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS