धनुषा । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा व्यस्त देखिन्छन् फूल व्यवसायी रामप्रवोध पण्डित ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रवोध पण्डित व्यावसायिक सयपत्री फूल खेती गरेका छन् । पण्डितले चार वर्षअघि कोरोनाको समयमा बन्दाबन्दी हुँदा कामविहीन भएपछि सुबधिमाई फूल भण्डार तथा उत्पादन शाखा सञ्चालन गरेर व्यावसायिक फूल खेती सुरुवात गरेका थिए । हरैयामा १० कट्ठा जमिन भाडामा लिएर उनले व्यावसायिक फूल खेती सुरु गरेका थिए । सुरुमा फूल खेतीसम्बन्धी अनुभव नहुँदा र लगातार दुई वर्षको बन्दाबन्दीमा खासै आम्दानी गर्न नसके पनि व्यवसायलाई उनले निरन्तरता दिए ।
गत वर्ष पाँच जातको सयपत्री फूल खेती गरेका उनले यसपालि ‘मेग्रा’, ‘चिनाचेरी’, ‘कर्मा त्रिपल फाइभ ओरेन्ज’, सेतो हजारी, कलकत्ते ओरेन्जलगायत जातका सयपत्रीका बिरुवा लगाएका छन् । उनले गत वर्ष तिहारको समयमा फूल मात्रै रु १० लाखको बिक्री गरेका थिए । यसपटक पनि तिहारको समयमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य रहेको पण्डितले बताए । आफूले फूल खेतीबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि गाउँका युवालाई वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने सल्लाह उनी दिन्छन् । फूल खेतीबाट आम्दानी राम्रो हुन थालेपछि आफूलाई काम खोज्दै विदेश पनि जान नपरेको उनको भनाइ छ ।
आफूहरु श्रीमान्, श्रीमती र दुई बुहारीसहित फूल खेतीमा लागिरहेको बताउँदै पण्डितकी श्रीमती फुलोदेवी फुलोले भने, “जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके आयआर्जनको बलियो आधार हुने अवस्था रहेको छ ।” फूल उत्पादनका लागि यहाँको माटो उपयुक्त रहेको फुलाको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको छ ।
रामप्रवोधले यसपालि फूल खेतीको क्षेत्र विस्तार गरेर एक बिघा पुर्याएको हुँदा उपभोक्ताले केही सस्तो मूल्यमा फूल किन्न पाउने धारणा व्यक्त गरे । फूलमा क्षीरेश्वरनाथ नगरपालिका र आसपासका गाउँ नगरलाई आत्मनिर्भर गराउने उद्देश्यले फूल खेतीको क्षेत्र विस्तारको योजना रहेका पण्डितले बताए । “फूल खेतीबाट हुने आम्दानी राम्रो छ, याममा लाखौँको फूल बिक्री भइरहेको छ”, उनले भने ।
उनले स्थानीय एभरेष्ट पेपर मिल्सको जागिर छोडेर फूल खेतीमा लागेका हुन् । उनले मासिक २५ हजारको जागिर छाडेका थिए । उनको परिवारलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमा काम गर्न भ्याइनभ्याइ हुन्छ । फुलोदेवी भन्छन्, “फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल गर्यो समय बितेको पत्तै हुँदैन ।” व्यावसायिकरुपमा सयपत्री फूल खेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो ।
तिहारको बेलामा मात्र नभई अन्य समयमा पनि फूलको माग हुने गर्दछ । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने गरेको पण्डित बताउँछन्। “यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यवसायमा अझ उत्साहित बनाएको छ ।”
पण्डितले विवाह, पूजा, विभिन्न सङ्घसंस्थाको औपचारिक तथा अनौपचारिक कार्यक्रममा उत्पादन गरेको सयपत्री फूलको माला खपत हुने गरेको बताए । “सार्वजनिक कार्यक्रममा अतिथि सत्कारका लागि खादाभन्दा मालाको माग बढ्दो छ,” पण्डितले भने, “उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पु¥याउनै सकेको छैन ।”
FACEBOOK COMMENTS