कमलामाई । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ ।
राहदानी बनाएर विदेश जान लागेका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहेका छन् । उनी भन्छन्, “नजिकिएको तिहारमा मात्रै सयपत्रीको एक हजार माला बेच्ने तयारी छ, यसअघि सयपत्रीको फूल बेचेर रु नौ लाख आम्दानी लिइसकेको छु ।”
परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाई नहुने आठ रोपनीमा उनले व्यावसायिक सयपत्री खेती गरेको एक वर्ष बितिसकेको छ । उनलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन । सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत आर्जन भएको दर्नाल बताउँछन् ।
किसान दर्नालले तीन महिनाअघि सयपत्रीको बीउ बेर्ना बनाएर रोपेका थिए । बेर्ना रोप्दा, बिरुवाको जलमल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिबेला खुसीमा बदलिएका छन् । थप जमिनमा फूलखेती विस्तार गर्ने उनमा उत्साह उब्जिएको छ । वर्षमा तीन पटकसम्म सयपत्रीको फूल र यसको माला बेच्ने गरेको उनी सुनाउँछन् । सयपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरि बिक्री हुन्छ । तिहारमा यसको माग र मूल्य बढी हुन्छ । दर्नालले उत्पादन गर्नुभएको फूलमाला सिन्धुलीको सिन्धुलीमाढी, रामेछापको मन्थली र काठमाडौँको पशुपतिनाथ क्षेत्रसम्म पुग्ने गर्दछ ।
सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर कमलामाई नगरपालिका–१ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ । फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझिकनै व्यावसायिक फूलखेती सुरु गरेको बताउने उहाँ गर्दै–सिक्दै, सच्याउँदै–सच्चिदै, बुझ्दै–बुझाउँदै अगाडि बढ्ने सोचमा रहेका छन् । अहिले एक कठ्ठामा फूलखेती सुरु गरे पनि विस्तारै बढाउँदै जाने उनको योजना छ ।
FACEBOOK COMMENTS