काठमाडौं । सामाजिक सञ्जालमार्फत लाखौँ रुपैयाँ ठगी तथा करोड रुपैयाँ बढीको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–५ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने १९ वर्षीय समीर तामाङ र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने १९ वर्षकै क्रिस पोखरेल छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौंको माइतीघरबाट नियन्त्रणमा लिएको हो ।
उनीहरूले २३ लाख १५ हजार रुपैयाँ रकम ठगी गरेको तथा एक करोड ३१ लाख ६२ हजार ६ सय ७५ रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको आरोप छ ।
असार ११ गते फेसबुक पेज तथा टेलिग्राम ग्रुपमार्फत समीर तामाङले आफ्नो एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारेका थिए । उक्त प्रलोभनमा पारेर उनले विभिन्न बैंक खातामा २३ लाख १५ हजार रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको उजुरी प्रहरीकहाँ परेको थियो ।
उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान गर्दा उनीहरूले एक करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबार गरेको समेत देखिएको हो ।
पक्राउ परेका उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS