काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने ललितपुर, ललितपुर महानगरपालिका–८ घर भएका ४३ वर्षीया सजु श्रेष्ठ र काठमाडौं महानगरपालिका–२६ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ घर भएका ३० वर्षीय नारायण लाम्ताङ्गे छन् ।
पक्राउ परेकामध्ये सजुले सर्बिया पठाइदिन्छु भन्दै तीन जनाबाट २० लाख रुपैयाँ र नारायणले ग्रीस पठाइदिन्छु भन्दै एक जनाबाट १६ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
रकम लिएपछि सम्पर्कविहीन भएका उनीहरूलाई पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले मङ्गलबार काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS