काठमाडौँ । काठमाडौँ महानगरले सबै सामुदायिक विद्यालयहरुलाई एकीकृत हाजिरी प्रणालीमा आवद्ध गराएको छ ।
यो प्रणालीमा महानगरपालिकाका कर्मचारी, विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको दैनिक हाजिरी हुनेछ । माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डंगोलले ७ दिनभित्र विदालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई डिजिटल हाजिरी प्रणालीमा आवद्ध गराउन निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले आफ्नै प्रणाली विकास गरेर सबै सामुदायिक विद्यालयलाई प्रणालीमा जोडेका हुन् ।
यसअन्तर्गत सबै विद्यालयहरुलाई युजर नेम र पासवर्ड प्रदान गरिसकिएको छ । यस्तै जनकल्याण मा. वि., टंगाल मा. वि., गीतामाता मा. वि., ज्ञानोदय मा. वि., तरुण मा. वि., रत्नराज्य मा. वि., पद्मोदय मा. वि., जनपथ मा. वि. र विश्व निकेतन मा. वि. का शिक्षक र कर्मचारीको नाम डाटा इन्ट्री र फेस रिडिङ् भइसकेको छ । यस्तै विद्यार्थीहरुको तथ्याङ्क प्रविष्ट गराउने र फेस रिडिङ् प्रक्रिया चलिरहेको शिक्षा विभागका निमित्त प्रमुख केशवप्रसाद ज्ञवालीले जानकारी दिए ।
यो प्रणालीका लागि महानगरपालिकाका आन्तरिक जनशक्तिले काम गरेका छन् । यसले, महानगरपालिकाको प्रणाली विकासमा परनिर्भरता घट्न थालेको छ । प्रणाली विकासपछि विद्यालयको लेखा र प्रशासनमा काम गर्ने कर्मचारीहरुलाई हाजिरी प्रणाली सञ्चालन गर्ने तालिम प्रदान गरेको छ । यो तालिमबाट डाटा इन्ट्री गराउने, अद्यावधिक गराउने, प्रतिवेदन बनाउने काम विद्यालयहरुबाटै हुनेछ । तर, यसको रियल टाइम सूचना महानगरपालिकाको केन्द्रीय प्रणालीबाट निगरानी गर्न सकिनेछ । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले भने- ‘महानगरपालिकाको आफ्नै प्रणाली विकास हुनु सबैभन्दा ठुलो उपलब्धि हो । अब सेवाका लागि परामर्शदाताको मुख ताक्नु पर्दैन । तथ्याङ्क प्राप्त गर्न अरुको भर पर्नु पर्दैन ।’
प्रणालीमा तथ्याङ्क प्रविष्ट गराइसकेपछि सब–नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सुत्र) मा आवद्ध गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत इञ्जिनियर माधव खनालले बताए । यो प्रणालीमा आवद्ध भइसकेपछि दिवा खाजा लगायत प्रति विद्यार्थीका आधारमा पठाइने अनुदानका लागि आधार तयार हुने खनालको भनाइ छ ।

यो प्रणाली व्यक्तिगत प्रोफाइल हुनेछ । जसमा विद्यार्थीले आफ्नो विवरण आफैँ हेर्न सक्नेछन् । यसलाई विकास गर्दै विद्यार्थीहरु गयल भएको सूचना अभिभावकलाई पठाउने बनाइनेछ ।

FACEBOOK COMMENTS