काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठक पनि विद्यालय शिक्षा विधेयकमा सहमति नगरी सकिएको छ ।
आइतबार सुरू भएको समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले अझै सरोकारवालाहरूसँग केही विषयमा सहमति जुटाउन बाँकी रहेकाले केही समय आवश्यक रहेको धारणा राखेपछि समितिको बैठक कुनै निर्णयबिना सकिएको छ ।
बैठकमा समितिका सभापति अम्मर बहादुर थापाले सरकारले समितिलाई खेलौना बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले अब बस्ने समितिको बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने भन्दै तयारी गरेर आउन मन्त्री पन्तलाई आग्रह गरेका थिए ।
मन्त्री पन्तले अझै केही समय मागेपछि विद्यालय शिक्षा विधेयक समितिबाट पारित हुने विषयमा अन्योलता बढेको छ । मन्त्री पन्तको प्रस्तावपछि सांसदहरूले सरकारले विभिन्न बहाना बनाएर विधेयकमा जुटेको सहमति समेत परिवर्तन हुने आशंका बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
यसअघि गत सोमबार नै विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगन गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगन गरिएको थियो ।
सरकारले आन्दोलनरत शिक्षकहरूसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भए पनि सो समयमा समितिमै यो विधेयक टुङ्गोमा पुग्न सकेको छैन ।
FACEBOOK COMMENTS