भरतपुर । महिला बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले कोरोना कहरले विद्यार्थीको पढाइमा गम्भीर रूपमा प्रभावित भएको भन्दै दशैं तिहारपछि पूर्ण रूपमा विद्यालय खुल्ने बताए ।
नेपाल प्रेस युनियन चितवनले मङ्गलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्वास्थ्य मापदण्ड अवलम्बन गरेर विद्यालय सञ्चालन गर्न सरकारले पहल सुरु गरिसकेको जानकारी दिए ।
अनलाइन शिक्षा सहरी क्षेत्रमा प्रभावकारी भए पनि ग्रामीण क्षेत्रमा यसको प्रभावकारिता नभएको उनको बुझाइ छ । उनले स्कुले बालबालिकालाई जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप दिन सरकार प्रतिबद्ध रहेको जनाए । ‘खोपका लागि स्वाथ्य मन्त्रालयसँग समन्वय भइरहेको छ । अब त खोप नै लगाएर पनि विद्यार्थीलाई प्रत्यक्ष विधिबाटै शिक्षा दिन जरुरी छ’, उनले भने ।
महिला, बालबालिका र ज्येष्ठ नागरिकको समस्या धेरै भएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि कतिपय नीतिगत रूपमै परिवर्तन हुनुपर्ने तर त्यो नीति परिवर्तनका लागि बनेका विधेयक संसद्मै रोकिएको उनको भनाइ रहेको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS