काठमाडौँ । आज विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइदैछ । यस बर्ष ११औँ विज्ञानमा महिला पहुँच अन्तर्राष्ट्रिय दिवस ‘दृष्टिबाट प्रभावतर्फः लैङ्गिक अन्तर घटाउँदै विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको पुनःपरिभाषा’ भन्ने रहेको छ ।
यस विषयवस्तुले छलफलमै सीमित नरही ठोस समाधानहरूको कार्यान्वयनमा जोड दिनुका साथै समावेशी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित प्रणाली निर्माणका लागि सफल अभ्यासहरू उजागर गर्नुपर्ने आवश्यकता औंल्याउएको छ ।
आजको दिनलाई आधुनिक विश्वमा विज्ञान र प्रविधि अनि नवप्रवर्तनमा महिलाहरूको योगदानको कदर गर्ने र उनीहरुलाई विज्ञानको पहुँचमा पुर्याउन विशेष दिनको रूपमा लिइन्छ । तर नेपालमा मात्र नभई विश्वका विकसित मुलुकहरूमा विज्ञान, प्रविधि र अनुसन्धानका क्षेत्रमा महिलाको उपस्थिति भने कम रहेको देखिन्छ । अहिलेको अवस्थामा महिलाको सहभागिता संख्या ३० प्रतिशतभन्दा कम छ ।
पछिल्लो समय नेपालमा महिलाहरू विज्ञान प्रविधि क्षेत्रमा अग्रसर भएको देखिए पनि नेतृत्व तहमा पछि नै छन् । व्यवस्थापनमा महिलाहरू अगाडि भए पनि विज्ञान प्रविधिका पक्षमा पर्याप्त अग्रता लिन सकेका छैनन् । समाजमा अझै पनि महिलाले सूचना प्रविधिसँग सम्बन्धित तथा प्राविधिक काम गर्न सक्दैनन् भन्ने मान्यता व्याप्त छ । सरकारको योजनाबद्ध कार्यक्रम तथा डिजिटल साक्षरताको कमीले अझै पनि यो क्षेत्रमा महिलाहरू पछाडी नै छन् ।
दुर्गम क्षेत्रमा सूचना प्रविधिको पहुँच कम रहेकाले त्यहाँका महिलाको अवस्था झनै दयनीय छ । महिलालाई घर–परिवारले नै सहयोग गरेर शिक्षामा अगाडि ल्याउन सकियो भने विज्ञान–प्रविधिको क्षेत्रमा पनि उनीहरूको उपस्थिति बढ्छ । महिलाहरूले पनि विज्ञान र प्रविधिका क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्नका लागि अठोट गर्न जरुरी छ । महिलाले पनि विज्ञान र प्रविधिमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । त्यसैले पनि यी क्षेत्रमा उनीहरूको सहभागितालाई बलियो बनाउनुपर्छ भन्ने मान्यता स्थापित गर्न आवश्यक छ ।

FACEBOOK COMMENTS