काठमाडौं । सेयर बजारमा गैरआवासीय नेपाली भित्र्याउन धितोपत्र बोर्डले अध्ययन समिति गठन गरेको छ ।
पुँजीबजारमार्फत राष्ट्रिय पुँजी निर्माण र परिचालनमा थप योगदान पुग्नेगरी गैरआवासीय नेपालीलाई भित्र्याउन समिति बनाएको बोर्डले जनाएको छ ।
बोर्डका सञ्चालक सुजनकुमार काफ्लेको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा बोर्डका सञ्चालक भोला ढुंगाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका छन् ।
समितिले गैरआवासीय नेपालीको लगानीलाई धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानुनबमोजिम आवश्यक व्यवस्थाका लागि अध्ययन प्रतिवेदनसहित नियमावलीको मस्यौदा तयार गर्नेछ ।
समितिले नियमावली कार्यान्वयनमा हुनसक्ने कठिनाइ पहिचान गरी त्यसका लागि आवश्यक कार्यविधि सिफारिस गर्नेछ । प्रस्तावित नियमावली कार्यान्वयनपश्चात धितोपत्र बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलतासमेत अभिवृद्धि हुने, धितोपत्र बजारको माग पक्ष बलियो हुने, बजारको अस्थिरता कम भई मूल्य जोखिम कम हुनेलगायतका सुधार पुँजीबजारमा हुने बोर्डको अपेक्षा छ ।
FACEBOOK COMMENTS