काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि शर्टलिस्टमा परेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता भोलि आइतबार हुने भएको छ ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले हिजो शुक्रबार एक सूचना जारी गर्दै भोलि आइतबार कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको हो ।
कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता भोलि बिहान ९ बजेदेखि राष्ट्रिय योजना आयोगको सभाहलमा हुने महाशाखाले जनाएको छ ।
यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक रहेको समितिले गत चैत २५ गते पाँच जनाको नाम शर्टलिस्ट गरेको थियो । जस अनुसार प्रत्यासीहरूमा सन्तोष नारायण श्रेष्ठ, चिरञ्जिवी चापागाईँ, कृष्णबहादुर कार्की, नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ छन् । प्रत्यासीमध्ये नवराज र मुक्तिनाथ सेबोनकै कार्यकारी निर्देशक हुन् ।
कार्ययोजना प्रस्तुतिकरण अन्तर्वार्तापछि सिफारिस समितिले तीन जनाको नाम आगामी मन्त्रिपरिषदमा सिफारिस गर्ने र मन्त्रिपरिषद बैठकले एक जनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने छ । आगामी सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषदको नियमित बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेकाले अबको केही दिनमै बोर्डले नयाँ अध्यक्ष पाउने सम्भावना बढेको हो ।
बोर्डको अध्यक्ष पद २०८० पुस २१ गतेदेखि रिक्त रहँदै आएको छ ।
FACEBOOK COMMENTS