काठमाडौं । नेपाल धितोपत्र बोर्डले वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको छ ।
धितोपत्र बजार सहभागीहरुका लागि लक्षित गरी सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीहरुका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरिएको जनाएको छ ।
मार्गदर्शनमा नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको युनाइटेड नेसन स्याङ्सन्स लिस्टमा कुनै सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध व्यक्ति, समूह वा संगठन धितोपत्र बजार सहभागीहरुले कारोबारको तथ्यांक (डेटाबेस) मा भए वा नभएको नियमित रुपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्ने उल्लेख छ ।
उक्त तथ्यांक (डेटाबेस) को आधारमा कुनै सूचीकृत व्यक्ति, समूह वा संगठन वा सोसँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा संगठनको कुनै सम्पति वा कोष आफूसँग रहेको भएमा तत्काल उक्त सम्पति वा कोष रोक्का राख्नुपर्ने व्यवस्था गरेको छ ।
धितोपत्र बजार सहभागीहरूले आफ्नो कार्य सञ्चालन गर्दा आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्थाहरू पालना गर्नुपर्ने व्यवस्था छ ।
आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित शङ्कास्पद व्यक्ति का सम्बन्धमा वित्तीय जानकारी इकाईमा रिपोर्टिङ्ग गर्नुपर्ने व्यवस्था छ ।
FACEBOOK COMMENTS