काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशैभर एकैपटक निर्वाचन नहुन सक्ने भन्दै त्यसैअनुसार तयार रहन निर्देशन गरेका छन् ।
मंगलबार बसेको सचिवालय बैठकमा निर्वाचनको माहोल बनेको भए पनि देशैभर एकैपटक निर्वाचन हुनसक्नेमा आशंका रहेको बताएका थिए ।
सचिवालय बैठकपछि ओलीको भनाइ उदृत गर्दै उपमहासचिव लेखराज भट्टले भने– ‘अध्यक्ष (ओली)ज्यूले एकै पटक निर्वाचन नहुन सक्ने स्थिति छ, त्यसैले पर सर्नसक्छ, खण्ड–खण्डमा हुनसक्छ । त्यसका लागि पनि मनोवैज्ञानिक रुपले तयार हुनुपर्छ।’
ओलीले निर्वाचनलाई एमालेले आन्दोलनकै रुपमा लिनुपर्नेसमेत ब्रिफिङ गरेका थिए। तर देशमा साम्प्रदायिक घटना भइरहेकाले निर्वाचनको वातावरणमा खलल पुग्ने चिन्ता ओलीले व्यक्त गरेका थिए ।
‘हामी त आन्दोलनकै रुपमा निर्वाचनलाई लिनुपर्छ भन्ने अध्यक्षको सम्बोधनमा सार रहेको छ। तयारी हाम्रो हुन्छ तर सरकारको जो गतिविधि छ, देशमा साम्प्रदायिकताका घटना जुन किसिमले भइरहेको छन्, त्यसले यो निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योलता छ’, ओलीको भनाइ उदृत गर्दै भट्टले भने ।

FACEBOOK COMMENTS