सिरहा । बारम्बार हुने आन्दोलन, कमजोर बजार अवस्था र प्रशासनिक झन्झटका कारण सिरहाका उद्योगी–व्यवसायी चिन्तित बनेका छन् ।
जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानले आज यहाँ आयोजना गरेको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीहरूले समस्या समाधानका लागि सरोकार भएकाहरूको ध्यानाकर्षण गराए ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित चारै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा भएको कार्यक्रममा सङ्घका अध्यक्ष विकास सारडाले निजी क्षेत्रको मनोबल उठाउने वातावरण निर्माण गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।
“कोभिड–१९ महामारी, आर्थिक मन्दी, ‘जेनजी’ प्रदर्शन र वर्षालगायत विपत्तिले पुर्याएको क्षतिका घटनाले निजी क्षेत्र समस्यामा छ । ऋण गरेर लगानी गर्ने, तर रोजगारी सिर्जना गर्ने निजी क्षेत्रमाथि आक्रमण गर्ने कामले देशको आर्थिक भविष्य नै जोखिममा पारेको छ”, उनले भने ।
अध्यक्ष सारडाले बैंकको कडा कर्जा नीति, बजार चलायमान नहुनु र सीमापारि नेपाली ग्राहकको आकर्षण बढ्नु आन्तरिक बजारका लागि चुनौतीका रूपमा रहेको बताए ।

सङ्घका निवर्तमान अध्यक्ष अशोकलाल अमात्य, सुखीपुर उद्योग व्यापार समितिका अध्यक्ष सुरज, होटल तथा पर्यटन व्यवसायी सङ्घ सिरहाका अध्यक्ष रामकुमार गुप्ताले आफ्ना गुनासा राखे ।

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले व्यापारीमाथि परेको समस्या समाधान गर्न आफूहरूले गर्नुपर्ने सहजीकरणका लागि तयार रहेको बताए । सबै पक्ष मिलेर सामूहिक भावनासहित अघि बढे मात्र समस्याको दीर्घकालीन समाधान सम्भव हुने उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले अर्थतन्त्र सुदृढीकरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण भएको बताउँदै सुरक्षित र स्थिर वातावरण निर्माण गर्न प्रशासन प्रतिबद्ध रहेको बताए । उनले शान्तिसुरक्षा राज्य मात्र नभई नागरिक समाज र समुदायको समेत जिम्मेवारी भएकाले सहकार्यको माध्यमबाट समस्या समाधान गर्न लाग्नुपर्ने धारणा राखे ।

प्रजिअ पौडेलले राजमार्ग क्षेत्रमा रात्रिकालीन होटल व्यवसाय २४ घण्टा सञ्चालन गर्न अनुमति दिइने, अन्य व्यवसाय राति ९ बजेसम्म सञ्चालन गर्न सकिने तथा ब्लकको जग्गा फुकुवासम्बन्धी प्रक्रिया द्रूत गतिमा अघि बढाइएको जानकारी दिए । खुला सीमाबाट लुकीछिपी सामान भित्र्याई व्यवसाय नगर्न पनि उनले व्यवसायीलाई आग्रह गरे ।
FACEBOOK COMMENTS