काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार (चैत १५ गते) सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी छन् ।
पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । बिहान ८ बजे सुरु परीक्षा बिहान ११ बजेसम्म चल्ने छ । आजदेखि चैत २७ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन् ।
कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।
परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ परीक्षार्थी रहेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उनका अनुसार त्यस्ता विद्यार्थी बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक एक, पर्सा र सप्तरीबाट दुई दुई तथा रुपन्देहीबाट चार जना छन् ।
परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको छ। सबैभन्दा कम मनाङ, मुस्ताङमा एक–एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र छन् ।
यस वर्षको एसइईमा जापानबाट २३ जना परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक पौडेलले बताए। उनका अनुसार जापानमा रहेको एभरेस्ट स्कुलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले एसईई परीक्षा दिइरहेका छन् ।
FACEBOOK COMMENTS