काठमाडौं । कक्षा १२ का विद्यार्थीहरूले विदाइ हुँदा ‘खाडीमा भेटौंला’ र ‘खरिदारदेखि सहसचिव’ बनौँला भनी आफ्नो सर्टमा लेखेको सन्देश लामो समय चर्चामा रह्यो ।
यस्तै, एसईई सकिएपछि पनि केही विद्यार्थीले सोही प्रकृतिको विदाइ र आकांक्षा प्रकट गरेका छन् । आजदेखि एसईई परीक्षा सकिएसँगै गोरखा जिल्लाको आरुघाट गाँउपालिकाको आरुटार वडा नम्बर ९ घर भएका रिजेश श्रेष्ठको सर्टमा साथीहरूले १९ वर्षपछिको गृहमन्त्री भएर देश विकास गर्नु लेखिदिएका छन् ।
पहिलो सन्देश रोजगारी नपाएर बिदेसिनुपर्ने लाखौं युवाको बाध्यताको प्रतिविम्ब थियो । दोस्रो सन्देशमा स्वदेशमै सरकारी सेवामा प्रवेश गरेर काम गर्न सकिन्छ भन्ने आशाको किरण झल्किने खालको थियो भने अहिलेको सन्देशले देश विकास गर्न नेता नै बन्नुपर्ने भाव झल्काउँछ ।
एसईई परिक्षा सकिएपछि साथीहरूबाट बिदाइ हुँदै गरेको रिजेशको सर्टमा ‘९ वर्षपछिको सांसद, १४ वर्षपछिको मन्त्री र १९ वर्षपछिको गृहमन्त्री’ भन्ने टाइमलाइन लेखिएको छ । ‘कक्षा १० को परीक्षा सकिएपछि विद्यालयमा आयोजित बिदाइ कार्यक्रममा धेरैले आफ्नो उद्देश्य विदेश जाने सुनाए,’ भिमोदय माध्यमिक विद्यालयमा अध्ययनरत श्रेष्ठले भने, ‘मैलेचाहिँ स्वदेशमै बसेर देशको सेवा गर्ने रहर सुनाएँ ।’ स्वदेशमै बसेर देशको सेवा गर्ने रहर रहेको भनेपछि साथीहरूले सर्टमा टाइमलाइनसहितको सन्देश लेखिदिएको उनले सुनाए ।
देशमा भ्रष्टाचार तथा अनियमितताका खबर बारम्बार सुनेका उनले आफूमा राजनीतिमा लागेर देश विकासमा लाग्ने सुनाए । ‘गाली गरेर विदेश भाग्नुभन्दा यहीँ देशमा बसेर काम र सेवा गर्न चाहन्छु,’ उनले भने, ‘मेरो यो रहरको धेरैले तारिफ गरिदिएकोमा थप खुसी मिलेको छ । यसैले साथीहरूले नेता भएर देश विकास गर्न शुभकामना दिएका हुन् ।’
यस वर्ष एसईईमा ५ लाख ४ हजार विद्यार्थी सहभागी भएका थिए ।
FACEBOOK COMMENTS