वर्तमानको विद्यालय संरचनाअनुसार कक्षा एकदेखि आठसम्म आधारभूत र कक्षा नौदेखि १२ सम्म माध्यमिक तह भनी परिभाषित गरिएको छ । विगत आठ दशकभन्दा लामो समयदेखि विद्यालय तहको अन्तिम परीक्षाको रूपमा कक्षा १० मा लिइँदै आएकोमा एसएलसीलाई एसईईमा रूपान्तरण गरिएको छ । नयाँ व्यवस्थाअनुसार विद्यालय तहको अन्तिम कक्षा १२ मा लिइने परीक्षालाई एसएलसी मानिएको छ ।
वि.सं. १९९० सालदेखि एसएलसीको रूपमा लिइँदै आएको परीक्षाको नतिजा उत्साहप्रद देखिँदैन । वि.सं. १९९८ सालमा सबैभन्दा बढी ७७.७८ प्रतिशत र वि.सं. २०३८ सालमा सबैभन्दा घटी १६.६८ प्रतिशत परीक्षार्थी उत्तीणर् भएको देखिन्छ । विगत परीक्षाको विषयगत औसत प्राप्ताङ्क हेर्दा अङ्ग्रेजीमा सबैभन्दा घटी ३३.२४ र सबैभन्दा बढी सामाजिकमा ४८.०४ उत्तीणर् भएको पाइन्छ । यति लामो समयसम्म विद्यार्थीको उपलब्धिस्तर ५० प्रतिशत पनि नपुग्नुमा के विद्यार्थी मात्रै दोषी छन् त ? शतप्रतिशत उपलब्धिस्तर पुर्याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाजलगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्योल गर्न विलम्ब भइसकेको छ । शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भए तापनि विद्यार्थीको उपलब्धिमा झन् ह्रास आउनु गम्भीर चिन्ताको विषय हो ।
यस वर्षको माध्यमिक शिक्षा उत्तीणर् परीक्षा (एसईई) यही चैत १५ गतेबाट बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदै छ । चैत २७ गते सकिने यस परीक्षामा चार लाख ८९ हजार चार सय ४४ परीक्षार्थी सम्मिलित हुने आकलन गरिएको छ । यस वर्षदेखि प्रत्येक विषयको सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी ननग्रेडिङमा पर्नेछन् । दुई विषयसम्म ननग्रेडिङ आउने विद्यार्थीले ग्रेडवद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी ननग्रेडिङ आएमा अर्को वर्षसम्म पर्खेर ती विषयको परीक्षा दिन सकिन्छ । यसअघि सैद्धान्तिक र प्रयोगात्क अङ्क जोडेर ३५ प्रतिशत ल्याए ग्रेडमा गणना हुन्थ्यो । विद्यार्थीको परीक्षा तयारीलाई अझ सहज र उच्च प्रतिफलमुखी बनाउन निम्न टिप्सले टेवा पुर्याउन सक्छन् ।
परीक्षा तयारीको समयमा स्वास्थ्यबारे विशेष चनाखो हुनुपर्दछ । स्वस्थकर आहार-विहार र सहज परिश्रमप्रति विशेष ध्यान दिनुपर्दछ ।
एसईईलाई हाउगुजीको रूपमा नलिई सहज रूपमा आत्मसात् गरेर सकारात्मक सोचले परीक्षा दिने मनस्थिति बनाउनुपर्दछ ।
मानसिक एवम् शारीरिक क्षमताभन्दा बढी थकान हुने गरी अनिदोसमेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ । शारीरिक तथा मानसिक थकानका कारण आफूले सोचेजस्तो जाँच दिन पनि सकिन्न ।
अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने-गराउनेतर्फ शिक्षक-विद्यार्थीले ध्यान दिनुपर्दछ । किनकि विगतमा कहिले-काहीँ पाठ्पुस्तकले नसमेटेको, तर पाठ्यक्रममा भएको विषय-वस्तुबाट पनि प्रश्न सोधिएका छन् ।
कठिन महसुस गरिएका विषयलाई अलि बढी महत्व दिँदै दैनिक समय-तालिका बनाएर सबै विषयलाई समानुपातिक रूपमा नियमित अध्ययन गर्ने ।
सहपाठीको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानी बसाल्ने ।
यस वर्षको नमुना प्रश्नपत्र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भर्खरै वेबसाइटमा राखेको छ । यी प्रश्नपत्रलगायत विगतका प्रश्नको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न ।
परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउँछ भन्ने दृढविश्वास एवम् उच्च मनोबलका साथ परीक्षाहलमा प्रवेश गर्नुपर्दछ ।
विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिँड्नु अगाडि राम्रोसँग चेकजाँच गर्नुपर्दछ ।
परीक्षा केन्द्रको वस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा अवलोकन पहिलै नै गर्दा सहज हुन्छ ।
प्रवेशपत्र तथा उत्तरपुस्तिकामा लेखिएका निर्देशन परीक्षा सुरु हुनुअगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ ।
उत्तर लेख्दा प्रत्येक प्रश्नका लागि छुट्याइएको अङ्कभार ख्याल गरी उत्तर लेख्नका लागि समय व्यवस्थापन गर्नुपर्छ ।
प्रश्नले मागेको उत्तर यकिन भएपछि प्रश्नको प्रकृति र अङ्कभार तथा समयलाई मध्यनजर राखी मौलिकता झल्किने गरी बँुदागत रूपमा सफा र शुद्धसँग उत्तर लेख्नुपर्दछ ।
सबै प्रश्नका उत्तर लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरलाई पुनः सरसर्ती पढेर केही छुटेको भए सच्याउनुपर्छ ।
एसईईलाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरूको आहार-विहारलाई स्वस्थकर बनाउने, पढ्ने-लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण बनाई सहजता प्रदान गर्ने एवम् उत्साह र ढाडस दिएर मर्यादित रूपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारीभित्र पर्दछ । यस मानेमा एसईई अभिभावकका लागि पनि एक समझदार अभिभावक भए-नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला ।
त्यस्तै, विद्यालयले विद्यार्थीको रुचि तथा क्षमताअनुसारको विषयको छनोट तथा परीक्षालाई सहज रूपमा सामना गर्न सक्ने योग्यताको विकास गराउनुपर्दछ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठन-पाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यथार्थता हो । किनकि एसएलसीको नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकाले विद्यालयले आफ्नो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो । तसर्थ आफ्ना विद्यार्थीको उपलब्धिस्तर उच्चतम बनाउन विद्यार्थीका प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरूको विकास र विस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्दछ । विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए-नपाएको यकिन गर्ने परीक्षा पनि हो एसईई ।
प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पार्छ । व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहार्द वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवम् उनीहरूले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्योल गर्दछ । यसप्रकार एसईई प्रत्यक्ष रूपमा विद्यार्थीका लागि मात्र भएजस्तो लागे तापनि परोक्ष रूपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको, योजना नीति-नियम कार्यक्रम जाँच्ने कसी पनि हो । त्यस्तै, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावकले विद्यार्थीको पठन-पाठनमा कत्तिको योगदान पुर्याए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क र उत्तीणर् प्रतिशत नै हो । तसर्थ एसईई विद्यार्थीका लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावकलगायतको पनि परीक्षा हो । (पूर्व जिल्ला शिक्षा अधिकारी कार्कीको यो विचार त्रिशूली प्रवाह साप्ताहिकबाट लिइएको हो ।)
FACEBOOK COMMENTS