काठमाडाैं । साना तथा मझौला व्यवसायी महासंघ, नेपालको एकताको महाधिवेशन हुने भएको छ । एकता महाधिवेशनका लागि तदर्थ समिति पनि गठन भएको छ ।
बाबुकाजी महर्जन अध्यक्ष रहेकाे साना तथा मझौला व्यवसायी महासंघ र गुह्यरत्न शाक्य अध्यक्ष रहेकाे साना तथा मझौला व्यवसायी महासंघबीच एकता हुने सहमति भए अनुसार एकता महाधिवेशनका लागि तदर्थ समिति पनि गठन भएको हाे।
उक्त दुवैसंस्थाको मिति २०७९।०८।१८ र मिति २०७९।०८।२४ गतेको सहमती अनुसार एकताको महाधिवेशन गरी संस्थाको एकीकृत महाधिवेशनको लागि बिभिन्न विषयमा छलफल गर्ने निर्णय भएकाे छ ।
जस अनुसार देशभित्र कूल रोजगारी सिर्जना गर्ने ७५ प्रतिशत भन्दा बढी योगदान दिनेक्षेत्र साथै समग्र आर्थिक क्षेत्रलाई चलायमान गराउन प्रमुख भूमिका खेलेको साना तथा मझौला व्यवसायीकोहक, हित, अधिकारका लागि महासंघका पदाधिकारी, सदस्यहरु बीचको आपसी मतभेद, विवाद मनन गरी महासंघलाई एक्यबद्धरुपमा अघि बढाउने निर्णय बैठकले गरेको छ ।
त्यस्तै एकताको महाधिवेशन गर्न दुवै महासंघ सम्मिलित उद्यमी दीपकप्रसाद आचार्यको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरी उक्त तदर्थ समितिले आवश्यकता अनुसार समिति, उप समिति गठन गर्ने र संस्थाको गरिमा बढाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्नेगरी अख्तियारी दिने निर्णय भएको छ।
एकताको महाधिवेशन गर्न महासंघ मातहतको जिल्ला, क्षेत्रीय वस्तुगत संघ समेतको इकाईको विधान सम्मत समितिको निर्वाचनवाट वा सहमतिमा समितिको गठन गरी ६ महिना भित्र विधान सम्मत महाधिवेशन सम्पन्न गर्ने निर्णय पनि भएको छ।
दीपकप्रसाद आचार्य संयोजक रहेको तदर्थ समितिमा धर्मनन्द श्रेष्ठ सह संयोजक रहेका छन् भने डा. गोपालप्रसाद तिवारी सदस्य सचिव रहेका छन् । त्यस्तै विश्व दुवाललाई कोषाध्यक्षको जिम्मेवारी दिईएको छ ।
तदर्थ समितिको सदस्यहरुमा यमुनादेवी श्रेष्ठ, बिजु शाक्य, प्रबलराज पोखरेल , डा. खोमराज खरेल, डा. बद्रि पौडेल, धनबहादुर जंगम, बिजय सागर प्रधान, सरिता थापा, प्रमिला खड्का, बिष्णु घर्ति मगर र मंजिला शर्मा रहेका छन् ।
FACEBOOK COMMENTS