काठमाडौं। नेपालको पर्यटन उत्पादनलाई हङकङका पर्यटकहरूको प्राथमिकतासँग मिलाउँदै स्थानीय पर्यटन क्षेत्रका प्रतिनिधिहरूसँग सहकार्य विस्तार गर्ने उद्देश्यले हङकङमा ‘नेपाल पर्यटन प्रवर्द्धन सेमिनार २०२५’ सम्पन्न भएको छ ।
नेपालको महावाणिज्य दूतावास हङकङद्वारा आयोजित उक्त सेमिनारमा हङकङ पोलिटेक्निक विश्वविद्यालयको होटल एण्ड टुरिज्म म्यानेजमेन्ट स्कूलका डीन प्रोफेसर काय चोन विशेष अतिथि रहेका थिए । उनले आफ्ना असंख्य नेपाल भ्रमणहरूको सम्झना गर्दै नेपालको अद्वितीय प्राकृतिक सौन्दर्य र सम्पदाको वर्णन गरे । साथै, उनले पर्यटन पूर्वाधार र नवीनतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
‘नेपालको पर्यटन उत्पादनहरूलाई हङकङका पर्यटकहरूको प्राथमिकतासँग मिलाउने’ विषयमा आयोजित प्यानल छलफलमा प्रोफेसर क्याथरिन चेउङ, प्रोफेसर आदा लो, र प्रोफेसर रोशिस कृष्ण श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए । छलफलमा हङकङका पर्यटकहरूको प्राथमिकता, पर्यटन क्षेत्रमा एआई र डिजिटल प्लेटफर्महरूको उपयोग तथा गैर–परम्परागत पर्यटन उत्पादनमा विविधीकरणका सम्भाव्यताबारे विचारविमर्श भएको थियो । प्यानल छलफल कन्सुल सतीश गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रममा कन्सुल जनरल डा. बिन्देश्वर प्रसाद लेखकले नेपालको पर्यटन प्रवर्द्धनमा रहेका अवसरहरूबारे सम्बोधन गर्दै यस क्षेत्रमा लगानी गर्न नेपाली डायस्पोराको भूमिकामा जोड दिए । नेपाल एयरलाइन्स हङकङका कन्ट्री म्यानेजर मिगी केसी र हङकङस्थित नेपाल पर्यटन प्रवर्द्धक प्रकाश पुनले पनि छुट्टाछुट्टै प्रस्तुति दिएका थिए ।
सेमिनारमा स्थानीय यात्रा, खाद्य तथा पेय पदार्थ उद्योगका प्रतिनिधि, शिक्षाविद्हरू र स्थानीय समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS