काठमाडौँ । नेपाल सरकार गृहमन्त्री स्तरको २०८२ माघ २ गतेको निर्णय अनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी वरिष्ठ उपरीक्षकहरूमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दज्र्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
राष्ट्र, जनता र संगठन प्रति पुर्याएको सेवा, व्यावसायिक समर्पण, अनुशासन र निष्ठाको मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेत बढ्दै जाने हुँदा बढुवासँगै प्राप्त थप जिम्मेवारीमा आफूलाई अब्बल प्रमाणित गर्ने छ भन्ने अपेक्षा रहेको उनले बताए । प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्वक र भयरहित तरिकाले सम्पन्न गर्न सूचना संकलनलाई प्राथमिकता दिई, सुरक्षा खतराहरूको पहिचान गरी थप सक्रिय र ऊर्जावान् भएर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाका साथ उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दज्र्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

FACEBOOK COMMENTS