काठमाडौं । विश्वव्यापी विद्युतीय सवारीसाधन निर्माता सेरेसले सन् २०२५ को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (NEV) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धि हासिल गरेको छ । कम्पनीले उक्त महिना ३१,४८८वटा NEV बिक्री गर्यो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९% ले बढी हो र यसले चुनौतिपूर्ण प्रथम त्रैमासिकपश्चात् मजबुत पुनरागमनको संकेत गर्दछ ।
चोंगकिंग लियाङ जियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल निर्माता कम्पनीले हुवावेसँगको सहकार्यमार्फत चीनको NEV बजारमा बलियो उपस्थिती बनाएको छ । यसको प्रमुख मोडल M9 मा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि समावेश गरिएको छ र यो मोडलले पहिले बीएमडब्लू, मर्सिडिज-बेन्ज, आदि जस्ता लक्जरी इन्धन गाडीहरू चढेकाहरूलाई आकर्षित गरेको छ । M9 ले ५००,००० युआन (लगभग ६९,४३५ अमेरिकी डलर) मूल्यको लक्जरी भेहिकल श्रेणीमा लगातार ११ महिनासम्म चीनको सेल्स चार्टमा अग्रस्थान कायम राखेको छ ।
सन् २०२५को पहिलो त्रैमासिकमा बिक्रीमा आएको कमीलाई विश्लेषकहरूले नयाँ मोडेलमा रूपान्तरण भइरहेको ट्रान्जिशनसँग जोडेर हेरेका थिए । मार्चमा अपडेट गरिएको M9 को सार्वजनिक वितरणर अप्रिलमा M8 को सुरुवातसँगै उपभोक्ताको चासो पुनःजागृत भएको छ र अब फेरि बिक्री वृद्धिको सम्भावना बलियो बनेको छ ।
बिक्रीको तथ्यांकअनुसार जनवरीमा बिक्री १२,४८३ युनिट थियो, जुन मार्चमा घटेर ५,२३६ मा झर्यो । तर M9 को२०२५ संस्करणको पहिलो पूर्ण वितरण महिना अप्रिलमा यो पुनःबढेर १३,१४९ युनिट पुगेको छ ।
अप्रिल १६ मा सार्वजनिक गरिएको M8, M7 र M9 को बीचको मोडल हो र यसको मूल्य ३५९,८०० युआनदेखि ४४९,८०० युआनसम्म तोकिएको छ । LiDAR प्रविधि र HarmonyOS ककपिट जस्ता उच्चस्तरीय सुविधा भएको योमोडेल ले M9 भन्दा करिब १,००,००० युआन सस्तो मूल्यमा लक्जरी रस्मार्ट फिचरहरू प्रदान गर्दछ । सार्वजनिक भएको केही साताभित्रै यसले ७०,००० भन्दा बढी प्रि-अर्डर प्राप्त गर्नुले पनि उपभोक्ताको ठूलो उत्साह झल्काउँछ ।
सेरेसको सन् २०२४ को वार्षिक प्रतिवेदनअनुसार कम्पनीले २०२४मा ४,२६,८८५ वटा NEV बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १८२.८४% ले बढी हो । तर सन् २०२५ को पहिलो चार महिनाको ट्रेण्डलाई हेर्दा गत वर्षको बिक्रीस्तर कायम राख्नु चुनौतीपूर्ण देखिन्छ ।
हालसम्म सेरेसले M8 को विस्तृत डेलिभरी डाटा सार्वजनिक गरेको छैन, जसले गर्दा यसको वार्षिक प्रदर्शनमा कति प्रभाव पर्छ भन्ने मूल्याङ्कन गर्न कठिन छ । यद्यपि प्रि-अर्डर तथ्यांकहरूले उच्च माग देखाए तापनि वास्तविक वितरण भने उत्पादन क्षमताको सीमा, स्टक व्यवस्थापन र अर्डर रद्द हुने जस्ता कारणहरूले फरक पर्न सक्छ ।
सेरेसको अप्रिलमा भएको सेल्स रिबाउन्ड चीनको सम्पूर्ण NEV बजारले फेरि मोमेन्टम पाएको संकेत पनि हो । चाइना एसोसिएशन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार सन् २०२५को अप्रिलमा चीनमा कुल१.२२६ मिलियन NEV बिक्री भएका थिए, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.२% ले बढी हो । सो महिनामा चीनमा बिक्री भएका कुल २.५९ मिलियन सवारीसाधनहरूमध्ये ४७.३% NEV हरू थिए ।
FACEBOOK COMMENTS