काठमाडौं । यस पटक मिसेस नोबेल नेपाल-२०२४ को ताज काठमाडौंकी सिरोसा सापकोटाले पहिरिएकी छिन् । ताजसँगै उनले चैतमा इजिप्टमा हुने एन एफ इ ए अवार्ड-२०२४ मा इन्ट्री टिकट समेत प्राप्त गरेकी छिन् ।
हिमायलन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित कार्यक्रममा शिला श्रेष्ठ फस्ट रनर अप र जुना भण्डारी सेकेन्ड रनर अप भएका छन् । कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफिमा ‘जती हेर्यो उती राम्रो’ बोलको गीतमा ओपनिङ्ग नृत्य गरेका प्रतियोगीहरूले सुब्बाकै कोरियोग्राफिमा दुई साताको प्रशिक्षण पश्चात् स्टेजमा आफूलाई परिचय चरण, प्रश्नोतर र क्राउनिङ्ग चरणमा उतारेका थिए ।
कार्यक्रममा विविध सव-टाईटलहरू समेत वितरण गरिएको थियो जसमा सिरोसा सापकोटा मोस्ट इन्टिलिजेन्ट, शिला श्रेष्ठ मोस्ट करिज्म्याटिक, जुना भण्डारी मोस्ट एट्राक्टीभ, रोशनी श्रेष्ठ मोस्ट स्मार्ट, निशा दुवाल मोस्ट डिलिजे न्ट, बुद्धिसरा अर्याल मोस्ट अनेस्ट, सिता राउत मोस्ट प्यासोनेट र रिया दाहाल वेस्ट फोटोजेनिक एवं पब्लिक भिडियो च्वाइस अवार्ड प्राप्त गर्न सफल भएका थिए ।
कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा चलचित्रकर्मी विशाल विष्ट, मोडल नायक मनिष राउत, मिसेस हिमालयन नेपाल २०२० माया लामा, व्युटिसियन नेपाल २०२१ तथा मोडल मन्जु थापा र मिसेस हिमालयन नेपाल २०२३ अनुषा केसी रहेका थिए ।
विवाहित महिलाहरूले आफूलाई आफ्नो घरपरिवार, व्यवसाय सम्हाल्दै स्टेजसम्मको यात्रा तय गरी आफूलाई प्रमाणित गर्न सक्छन् भन्ने कुरा दर्शाउन र महिलाहरूमा निहित प्रतिभाको प्रस्फुटन गराउन कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।
FACEBOOK COMMENTS