काठमाडौं । सात वाणिज्य बैंकले गत आव २०८२/८३ मा ३२ अर्ब ९१ करोड १९ लाख रुपियाँ नाफा कमाएका छन् ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये साउन २१ गतसम्म ७ वटाले मात्रै अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
यसरी वित्तीय विवरण सार्वजनिक गर्नेहरुमा नबिल, ग्लोबल, एभरेष्ट, सिद्धार्थ, एनएमबि, सानिमा र कृषि विकास बैंक रहेका छन् ।
प्रकाशित वित्तीय विवरण अनुसार यी मध्ये गत आवको तुलनामा कृषि विकास बैंकले नाफा घटाउँदा बाँकी ६ वटा बैंकले नाफा बढाएका छन् ।
कुन बैंकको अवस्था कस्तो ?
१. ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणले बैंकको अधिकांश प्रमुख वित्तीय सूचकमा सुधार देखाएको छ । विशेषगरी बैंकले खुद नाफा, सञ्चालन मुनाफा र प्रतिशेयर आम्दानी (ईपीएस) मा उल्लेख्य वृद्धि हासिल गरेको छ।
वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ५ अर्ब ७ करोड ६३ लाख रुपियाँबाट २२।६७ प्रतिशतले बढेर ६ अर्ब २२ करोड ७१ लाख रुपियाँ पुगेको छ । यद्यपि, खुद ब्याज आम्दानी भने १६ अर्ब ६७ करोड ९९ लाख रुपियाँबाट घटेर १६ अर्ब २० करोड ३० लाख रुपियाँमा सीमित भएको छ, जसमा २.८६ प्रतिशतको गिरावट देखिएको छ ।
बैंकको गैरब्याज आम्दानीतर्फ भने सकारात्मक सुधार देखिएको छ । खुद फि तथा कमिसन आम्दानी ३ अर्ब २२ करोड १७ लाख रुपियाँबाट बढेर ३ अर्ब ६४ करोड ५ लाख रुपियाँ पुगेको छ । यससँगै कुल सञ्चालन आम्दानी पनि २।६१ प्रतिशतले वृद्धि भई २१ अर्ब ८० करोड ३९ लाख रुपियाँ पुगेको छ ।
सञ्चालनतर्फको प्रदर्शन पनि सुदृढ देखिएको छ । सञ्चालन मुनाफा २० प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपियाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ४ अर्ब ५ करोड २८ लाख रुपियाँबाट बढेर ४ अर्ब ५८ करोड १० लाख रुपियाँ पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी ९ईपीएस० १३।३२ रुपियाँबाट बढेर १६.३४ रुपियाँ पुगेको छ। यद्यपि, खराब कर्जाको अनुपात (एनपीएल) भने ४.८६ प्रतिशतबाट सामान्य वृद्धि हुँदै ४.९६ प्रतिशतमा पुगेको छ । आधार दर ५.७६ प्रतिशतबाट घटेर ४.७५ प्रतिशत कायम हुँदा प्रतिशेयर नेटवर्थ १८३.१४ रुपियाँ रहेको छ।
२. नबिल बैंक
नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमाससम्मको नाफा, सञ्चालन आम्दानी तथा लाभांश वितरण क्षमतामा उल्लेखनीय सुधार हासिल गरेको छ।
वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ५ अर्ब ९२ करोड २१ लाख रुपियाँबाट ३३.५० प्रतिशतले वृद्धि हुँदै सात अर्ब ९० करोड ५७ लाख रुपियाँ पुगेको छ । त्यसैगरी, खुद ब्याज आम्दानी पनि १६ अर्ब ३२ करोड रुपियाँबाट बढेर १७ अर्ब ९२ करोड रुपियाँ पुगेको छ। बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थापन खर्च (इम्पेयरमेन्ट चार्ज) मा आएको कमीले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यो खर्च अघिल्लो वर्षको ४ अर्ब २० करोड रुपियाँबाट घटेर २ अर्ब ६७ करोड रुपियाँमा सीमित भएको छ । साथै, सञ्चालन नाफा ९ अर्ब २३ करोड ५४ लाख रुपियाँबाट २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
लाभांश वितरण क्षमताका हिसाबले पनि बैंकको अवस्था सुदृढ देखिएको छ । नियामकीय समायोजनपछि असार मसान्तसम्म बैंकको खुद वितरणयोग्य नाफा ४ अर्ब ६९ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सञ्चित नाफासमेत जोड्दा कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रुपियाँ पुगेको छ । यसका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपियाँ १० पैसा रहेको छ।
वित्तीय अवस्थातर्फ हेर्दा, बैंकको कुल सम्पत्ति ७ खर्ब ३४ अर्ब ७३ करोड रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.३८ प्रतिशतले बढी हो । बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपियाँ पुगेको छ, जसमा ५ अर्ब रुपियाँ बराबरको ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार शेयर पनि समावेश छ । सञ्चित नाफा तथा अन्य जगेडा कोषसहित बैंकको कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपियाँ पुगेको छ ।
बैंकको निक्षेप तथा कर्जा कारोबारमा पनि उत्साहजनक विस्तार देखिएको छ । ग्राहक निक्षेप १२।९५ प्रतिशतले वृद्धि भई ५ खर्ब ९२ अर्ब ५५ करोड रुपियाँ पुगेको छ भने कर्जा लगानी १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपियाँ पुगेको छ । समग्रमा, गत आर्थिक वर्ष बैंकका अधिकांश वित्तीय सूचकहरू सकारात्मक दिशामा अघि बढेका छन्, जसले बैंकको वित्तीय आधार अझ मजबुत बनेको संकेत गर्दछ ।
३. सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, ब्याज आम्दानी र व्यवसाय विस्तारमा सकारात्मक प्रगति हासिल गरेको जनाएको छ । समीक्षा अवधिमा बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ३६ करोड ६५ लाख रुपियाँको तुलनामा ४.५४ प्रतिशतले बढी हो ।
बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ । अघिल्लो वर्ष ८ अर्ब ४३ करोड रुपियाँ रहेको यस्तो आम्दानी यस वर्ष ९ अर्ब ५ करोड ११ लाख रुपियाँ पुगेको छ । यस्तै, शुल्क तथा कमिसनबाट प्राप्त आम्दानी १ अर्ब ५८ करोड रुपियाँबाट बढेर १ अर्ब ८६ करोड ४६ लाख रुपियाँ पुगेको छ । सञ्चालन नाफा पनि ४ अर्ब ९७ करोड रुपियाँबाट वृद्धि भएर ५ अर्ब १६ करोड २७ लाख रुपियाँ कायम भएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार आवश्यक समायोजन तथा सञ्चित नाफाको हिसाब मिलाउँदा बैंकको वितरणयोग्य नाफा १ अर्ब ७० करोड ५६ लाख ७१ हजार रुपियाँ पुगेको छ। यसका आधारमा साधारण शेयरधनीका लागि प्रतिशेयर वितरणयोग्य नाफा ११ रुपियाँ ५३ पैसा रहेको छ । बैंकका अनुसार क्यापिटल एड्जस्टमेन्ट रिजर्भसमेत समायोजन गर्दा प्रतिशेयर वितरणयोग्य क्षमता २६ रुपियाँ १५ पैसासम्म पुग्ने देखिएको छ ।
४. एभरेष्ट बैंक
एभरेस्ट बैंक लिमिटेडले समीक्षा अवधिमा ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपियाँ खुद नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.९७ प्रतिशतले बढेर ९ अर्ब १९ करोड ४ लाख ५९ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब १० करोड २३ लाख २४ हजार रुपियाँ रहेको थियो । यस अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानीमा आकर्षक सुधार देखिएको छ ।
अघिल्लो वर्ष १ अर्ब ५३ करोड ४ लाख ९७ हजार रुपियाँ रहेको खुद शुल्क तथा कमिसन आम्दानी यस वर्ष २७।२३ प्रतिशतले बढेर १ अर्ब ९४ करोड ७२ लाख ६३ हजार रुपियाँ पुगेको छ । शुल्क तथा कमिसन आम्दानीमा आएको यो बढोत्तरी र ब्याज खर्चमा भएको कटौती (१० अर्ब ९१ करोड २१ लाख रुपियाँ) का कारण बैंकको सञ्चालन मुनाफा ७ अर्ब ३८ करोड ४४ लाख ५२ हजार रुपियाँ कायम भएको छ ।
बैंकको सञ्चालन मुनाफा ०.४९ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड रुपियाँ पुगेको छ । प्रतिशेयर आम्दानीमा भने सामान्य गिरावट आएर ३६ रुपियाँ ९५ पैसा पुगेको छ ।
५. एनएमबि बैंक
एनएमबि बैंक लिमिटेडले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार हासिल गरेको छ । बैंकले नाफा, ब्याज आम्दानी तथा व्यवसाय विस्तारमा अघिल्लो वर्षको तुलनामा उत्साहजनक प्रगति गरेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ४ अर्ब १ करोड रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ८५ करोड रुपियाँ रहेको थियो । यस आधारमा बैंकको खुद नाफा वार्षिक रूपमा ४०.६० प्रतिशतले वृद्धि भएको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ८ अर्ब २ करोड रुपियाँ रहेको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले वृद्धि हुँदै ९ अर्ब ४२ करोड रुपियाँ पुगेको छ । त्यसैगरी, शुल्क तथा कमिसनबाट हुने आम्दानी २ अर्ब १४ करोड रुपियाँबाट बढेर २ अर्ब ५९ करोड रुपियाँ पुगेको छ । सञ्चालन नाफा पनि ४ अर्ब ७३ करोड रुपैयाँबाट २९.०६ प्रतिशतले वृद्धि भई ६ अर्ब ११ करोड रुपियाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार विभिन्न कोषमा रकम छुट्याएपछि बैंकको नियामक समायोजन अघिको नाफा २ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । नियामकीय समायोजन र अघिल्लो वर्षको सञ्चित नाफा समावेश गरेपछि वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपियाँ पुगेको छ । अविमोच्य असञ्चिति अग्राधिकार शेयरको लाभांश कट्टा गरेपछि साधारण शेयरधनीका लागि १ अर्ब ७५ करोड रुपियाँ वितरणयोग्य रहने बैंकले जनाएको छ । यसअनुसार प्रतिशेयर वितरणयोग्य नाफा ९ रुपियाँ ८ पैसा रहेको छ ।
६. कृषि विकास बैंक
कृषि विकास बैंकको खुद ब्याज आम्दानीमा संकुचन र खराब कर्जा बापतको प्रोभिजनिङमा भारी वृद्धिले नाफा र इपीएस प्रभावित भएको छ । बैंकले जारी गरेको गत आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको धेरै सूचकहरु अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ । बैंकको खुद नाफा २९.५२ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ६ लाख ४१ हजार रुपियाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७३ करोड २४ लाख १६ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।
बैंकको खराब कर्जा तथा सम्भावित कर्जा नोक्सानी बापतको व्यवस्था (इम्पेयरमेन्ट चार्ज) उच्च रूपमा बढेका कारण खुद नाफामा प्रत्यक्ष असर परेको वित्तीय विवरणले देखाएको छ। अघिल्लो वर्ष ६३ करोड ७ लाख ७२ हजार रुपियाँ रहेको इम्पेयरमेन्ट चार्ज चालू आवमा ८५।९१ प्रतिशतले बढेर १ अर्ब १७ करोड २६ लाख ५८ हजार रुपियाँ पुगेको छ ।
बैंकको मुख्य व्यावसायिक आम्दानीको रूपमा रहेको खुद ब्याज आम्दानीमा पनि ३.४५ प्रतिशतको संकुचन आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ अर्ब ४४ करोड ७४ लाख ६७ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालू आवको सोही अवधिमा ९ अर्ब १२ करोड १५ लाख ८ हजार रुपियाँ मात्र आर्जन गर्न सफल भएको छ ।
समीक्षा अवधिमा बैंकको कुल ब्याज आम्दानी २२ अर्ब ४४ करोड ८४ लाख ६९ हजार रुपियाँबाट ६.५७ प्रतिशतले घटेर २० अर्ब ९७ करोड ४५ लाख २ हजार रुपियाँ कायम भएको छ । यद्यपि, ब्याज खर्च पनि १३ अर्ब १ लाख रुपियाँबाट ८.८२ प्रतिशतले घटेर ११ अर्ब ८५ करोड २९ लाख ९३ हजार रुपियाँमा झरेको छ, जसले खुद ब्याज आम्दानीको गिरावटलाई केही हदसम्म सन्तुलनमा राख्न मद्दत पुर्याएको छ।
व्यावसायिक गतिविधिमा आएको सुस्तता र इम्पेयरमेन्ट चार्जमा भएको उल्लेख्य वृद्धिका कारण बैंकको सञ्चालन नाफा २४.३२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ५ अर्ब २१ करोड ८ लाख २९ हजार रुपियाँ रहेको सञ्चालन नाफा समीक्षा वर्षमा ३ अर्ब ९४ करोड ३५ लाख ९० हजार रुपियाँमा झरेको छ ।
७. सानिमा बैंक
सानिमा बैंकले गत आर्थिक वर्ष २०८२–८३ मा ३ अर्ब ५५ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले प्रकाशित गरेको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा ३८.०१ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो आवमा बैंकले २ अर्ब ५७ करोड रुपियाँमात्रै नाफा कमाएको थियो ।
वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी बढेर ६ अर्ब ९६ करोड रुपियाँ पुगेको छ । गत आर्थिक वर्ष बैंकले खुद शुल्क तथा कमिसन बापत १ अर्ब ३२ करोड रुपियाँ आम्दानी गरेको छ । बैंकको प्रतिशेयर वितरणयोग्य नाफा २० रुपियाँ ८५ पैसा कायम भएको छ ।
बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपियाँ रहेको छ । त्यस्तै बैंकको कुल बढेर २ खर्ब ४९ अर्ब रुपियाँ पुगेको छ । त्यस्तै, ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा बढेर १ खर्ब ९५ अर्ब पुगेको छ । त्यस्तै बैंकको खराब कर्जा घटेर २।८७ प्रतिशतमा झरेको छ ।