काठमाडौं । भारतको उत्तराखण्डको रुद्रप्रयागस्थित गौरीकुण्ड नजिक आज आइतबार बिहान भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी पीटीआईलाई उधृत गर्दै टाइम्स अफ इण्डियाले हेलिकोप्टर दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणले भारतीय समयअनुसार आज बिहान करिब ५:३० बजे केदारनाथदेखि गुप्तकाशीका लागि उडेको केही बेरमै दुर्घटनामा परेको जनाएको छ ।
रुद्रप्रयागका जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह रजवारले खराब मौसमका कारण न्यून भिजिबिलिटीले गर्दा गौरीकुण्डको जङ्गलमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको मिडियालाई बताएका छन् ।
विपद् प्रतिकार्य बल (एसडीआरएफ) र प्रहरीले घटनास्थलमा उद्धारको कार्य गरिरहेको बताइएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै एसडीआरएफ, स्थानीय प्रशासक र अन्य उद्धार टोलीले उद्धार तथा राहतको कार्य गरिरहेको बताएका छन् ।
हेलिकोप्टरमा ७ जना सवार रहेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि हेलिकोप्टर दुर्घटनाको जानकारी दिएका छन् । मुख्यमन्त्री धामीले हाल प्रहरी र स्थानीय प्रशासन राहत र उद्धार कार्यमा लागेको बताएका छन् ।
हेलिकोप्टरमा सवार व्यक्तिहरू केदारनाथ मन्दिरको दर्शन गर्न जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।
यसअघि मे ८ मा गङ्गोत्री धाम जाँदै गरेको हेलिकोप्टर उत्तरकाशी जिल्लामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।
त्यस्तै, जुन ७ मा केदारनाथ जाँदै गरेको अर्को हेलिकोप्टरले टेकअफपछि नै प्राविधिक खराबीका कारण सडकमा आकस्मिक अवतरण गरेको थियो । यसमा पाइलट घाइते भए तापनि सवार ५ जना यात्रु भने सकुशल रहे ।
याे पनि पढ्नुहाेस्
एअर इण्डियाको जहाज दुर्घटना सेलाउन नपाउँदै भारतमा हेलिकोप्टर दुर्घटना
FACEBOOK COMMENTS