काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनको भग्नावशेष खस्दा घाइते भएका सात नेपालीमध्ये दुईजना उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । घाइते अरू चार नेपाली पनि डिस्चार्जको प्रक्रियामा रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
“शुक्रबार यूएईको अबुधाबीमा घाइते भएका सातजना नेपालीमध्ये दुईजना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्,” उनले भने, “चारजना डिस्चार्जको प्रक्रियामा छन् ।”
घाइते सात नेपालीमध्ये एकजनाको अवस्था गम्भीर रहेको यूएईको सरकारी सञ्चारमाध्यमले जनाएको थियो । उनी पनि खतरामुक्त रहेका प्रवक्ता क्षेत्रीले बताए ।
ल्:द्य द्यबलप
“गम्भीर घाइते भनिएका एकजना खतरामुक्त रहेको र उनी अस्पतालमा उपचाररत छन्,” उनले भने । घाइते सबैजनासँग यूएईस्थित नेपाली दूतावासका अधिकारीले कुराकानी गरेका उनले जानकारी दिए ।
अजबन क्षेत्रमा उक्त घटना भएको हो । घटनामा पाँच भारतीय पनि घाइते भएका त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र