काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणालाई मिलेर जान आग्रह गरेका छन् ।
महामन्त्री राणाले आज बालुवाटारमा आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यको भेला गरेपछि त्यसतर्फ लक्ष्य गर्दै प्रवक्ता शाहीले अहिलेको अवस्थामा सबै एकजुट भएर जानुपर्ने बताए ।
‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन वा महामन्त्री धवल शमशेर राणा जो भए पनि यसरी गुट–उपगुटका भेला तत्काल बन्द गर्नुहोस्। यस्तो अवस्थामा राष्ट्रवादीहरू एक ढिक्का हुने हो, फुटेर होइन जुटेर अगाडि बढ्ने हो,’ सेतोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘यदि तपाईंहरू मिलेर जान नसक्ने हो भने युवाहरूको भविष्य बर्बाद गर्ने तपाईंहरूसँग अधिकार छैन ’
उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै पार्टी नेतृत्वलाई तत्काल गुट–उपगुटका भेला बन्द गरी एकजुट हुन अपिल गरेका छन् । नेताहरूलाई व्यक्तिगत स्वार्थ र अहमलाई त्याग्न तथा राष्ट्रिय हितलाई प्राथमिकता दिन उनले आग्रह गरेका छन् । शाहीले नेताहरूलाई राष्ट्रवादी शक्तिलाई कमजोर नबनाउन र जनताको आशामाथि तुषारापात नगर्न आग्रह गरेका छन् ।