काठमाडौं । शंकरदेव क्याम्पस प्रमुख डा. कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरूले आफूहरूमाथि लागेको आर्थिक अपचलनको आरोप खण्डन गरेका छन् ।
आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरूमाथि लगाइएको आरोप प्रमाणित गरेर देखाउन चुनौती समेत दिएका छन् ।
शंकरदेव क्याम्पस प्रशान र स्ववियूमाथि क्याम्पस प्रमुख, लेखा प्रमुख र स्ववियु पदाधिकारीसँग मिलेर आर्थिक अपचलन गरेको आरोप लागेको थियो ।
शंकरदेव क्याम्पस प्रमुख डा.आचार्यले आर्थिक हिनामिना र भ्रष्टाचार भइरहेको भन्ने आरोपमा आफू सहमत नरहेको बताए । उनले आफू क्याम्पस प्रमुख भएर आउनुअघिको नेतृत्वको काम कारबाहीबारे जिम्मेवार हुन नसक्ने बताउँदै आफ्नो नेतृत्वमा क्याम्पसको सबै काम कारबाही पारदर्शी रहेको दाबी गरे । उनले मिडियाबाट आएका समाचारहरू कापोल्कल्पित, झुठा र निराधार रहेको बताए । उनले आफू क्याम्पस प्रमुख भएर आएपछिका सबै काम कारबाहीको जिम्मेवारी लिन तयार रहेको बताए ।
आफूमाथि लागेको आरोपको खण्डण गर्दै उनले क्याम्पस प्रशासनबाट विद्यार्थी संगठनहरूको लेटर प्याड दुरूपयोग नभएको बताए । उनले शैक्षिक भ्रमण, भौतिक संरचना निर्माण, शैक्षिक सामग्री खरिदलगायतका क्याम्पसलाई आवश्यक पर्ने सामानहरू खरिद गर्दा खरिद समितिको सिफारिसमा क्याम्पस कार्य समितिबाट निर्णय गराई बोलकबोल प्रक्रियाबाट प्रतिस्पर्धा गराई न्यूनतम दररेटमा छनोट गर्ने गरिएको बताए । शैक्षिक भ्रमण, भौतिक संरचना निर्माण, शैक्षिक सामाग्री खरिदलगायतका विषयमा कुनै पनि आर्थिक हिनामिना नभएको बताए । केही व्यक्तिहरूलेले क्याम्पसबाट अनुचित लाभ लिनका लागि आफूलाई बारम्बार दबाब र दुर्व्यवहार गर्दै आएको पनि उनले बताए । उनीहरूको चाहना पूरा नगरिदिएवापत आफूले आरोप खेप्नुपरेको बताए ।
यस्तै, स्ववियू अध्यक्ष सुशान्त बस्नेतले केही समूहरूले क्याम्पस प्रशासन र लेखाप्रमुखसँग मिलेर आर्थिक अपचलन गरेको आरोप लगाएको भन्दै उक्त आरोप प्रमाणित गरेर देखाउन चुनौती दिए । स्ववियू निर्वाचनपछि आफूहरूले विभिन्न रचनात्मक र सिर्जनात्मक कार्य गर्दै आएको उनले बताए ।
आफूहरूले क्याम्पसलाई फरक पहिचान बनाउन सहयोग गरिरहेको बताए । आफूमाथि लगाइएका कुनै आरोप प्रमाणित भएर स्ववियूको जिम्मेवारीबाट राजीनामा दिएर सजाय भोग्न तयार रहेको उनको भनाइ छ । स्ववियु अध्यक्ष बस्नेतले शंकरदेव क्याम्पसमा नियमित कक्षा सञ्चालन, गुणस्तरीय शिक्षा, सुद्ध खानेपानी, व्यवस्थित शौचालयलगायत विद्यार्थीहरूका हरेक मुद्दा र समस्या समाधानमा केन्द्रीत रहेर आफूहरूले काम गरिरहेको बताए । आफूमाथि लागेको आरोप सत्यतथ्य छानविन भएर प्रमाणित भएमा आफू कारबाहीको भागिदार हुन तयार रहेको उनले बताए ।
FACEBOOK COMMENTS