काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले नेपाली समाजमा जातीय छुवाछुत र विभेद निर्मूल हुन नसकेकोप्रति दुःख व्यक्त गरेकी छिन् ।
आज मंगलबार प्रतिनिधि सभा बैठकमा उनले मुलुक लोकतान्त्रिक गणतन्त्रमा गइसक्दा पनि समाज विद्यमान रहेको जातीय छुवाछुत र विभेदका श्रृङ्खला अन्त्य हुन नसकेको बताउँदै जातीय छुवाछुत र विभेद निर्मूल हुन नसकेकोप्रति दुःख व्यक्त गरेकी हुन् ।
‘को ठूलो को सानो खाँचो सबलाई एउटै मानो, मान्छे एउटै हो भेदभाव छुवाछुत गर्नु किन ? २०७३ जेठ २१ गते जातीय भेदभाव छुवाछुत उन्मुलन घोषणा गरेको हिजो जेठ २१ गते १८ वर्ष पूरा भएको अवसरमा सम्पूर्ण दलित समूदायमा हार्दिक शुभकामना व्यक्त गर्न चहान्छु,’ उनले संसद बैठकमा भनिन्, ‘व्यवस्था बदलियो अवस्था बदलिएन, व्यवस्था बदलियो तर दलितप्रति हुने विभेदको अवस्था बदलिएन । संसदले शुभकामना समेत दिन नसक्दा दुःख लाग्यो ।
सांसद विकले दलित समुदायको भोट, नोट, श्रम, सिप र जवानी समेत चल्ने तर दलितले छोएको पानी नचल्ने पुरातनवादी सोच बदलिन नसकेकोमा चिन्ता व्यक्त गरेकी छिन् । ‘भोट, नोट, श्रम, शीप र जवानी चल्ने तर पानी किन नचल्ने ? मान्छे भएर मान्छे भएको अनुभूति गर्न नपाइने कस्तो संस्कार हो ?,’ प्रश्न गर्दै उनले भनिन् । भेदभावरहित समाज निर्माण गर्न उनले सबै राजनीतिक दलसँग संसदमार्फत अपिल समेत गरेकी छिन् ।
प्राचीनकालदेखि चल्दै आएको सति प्रथा चन्द्र शमशेरले वि.सं. १९७७ साल असार १५ गते नेपालमा कानुनी रूपमै प्रतिबन्ध लगाई सती प्रथालाई सदाका लागि अन्त्य गर्न सक्ने, तर आज मुलुक लोकतान्त्रिक गणतन्त्र हुँदा जातकै आधारमा हुने भेदभाव र छुवाछुतको अन्त्य हुन नसक्नु सबै राजनीतिक दललाई चुनौती भएको उनको भनाइ छ । ‘विद्यमान समस्या अन्त्य र यो परिवर्तन राजनीतिक दलहरूबाट मात्रै सम्भव छ । यस्ता सामाजिक रूपमा निन्दनीय कार्य उन्मूलन गर्न संविधानको पन्नामा कानुन लेखेर मात्रै हुँदैन कार्यान्वयन पक्षमा लैजानुपर्छ । यो आजको आवश्यकता हो,’ सांसद विकले भनिन् ।
यस्तै, उनले वर्तमान मन्त्रिमण्डलमा एक जना पनि दलितलाई मन्त्री नबनाइनु पनि विभेदको एउटा रूप भएको बताइन् । उनले भनिन्, ‘वर्तमान सरकारमा कुनै पनि दलले एक जना पनि दलितलाई मन्त्री बनाएन यो भेदभावकै एउटा दृष्टान्त हो । र सदनदेखि समाजसम्म यो विभेदरहित समाजको निर्माण गर्न राजनीतिक दलले विशेष भूमिका खेल्न आग्रह र अपिल गर्न चाहान्छु ।’
आफू संसदमा पहिलोपटक प्रवेश गर्दैगर्दा देश र जनताको पक्षमा केही गर्छु भन्ने ठूलो ऊर्जा बोकेर आएको भए पनि संसदको दायाँ र बायाँपट्टीका कुर्सीले का मगर्न नदिएकोमा पनि उनले चिन्ता व्यक्त गरेकी छिन् । ‘संसदको दायाँबायाँको कुर्सी यति शक्तिशाली रहेछ कि दायाँ बस्दा देखिएको गल्ती बायाँपट्टी जाँदा सबै छोपिने रहेछ । यो जनताको आवाज राख्ने थलो भन्दा पनि गलत ढाकछोप गर्ने उएटा पार्टी कार्यालयजस्तो हुने गरेको देखेर चिन्ता लागेको छ,’ उनले भनिन् ।
FACEBOOK COMMENTS