काठमाडौँ । रास्वपाका पुर्व प्रमुख सचेतक सन्तोष परियार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र एकतामा नगएका माओवादी केन्द्रको जनार्दन शर्मा समूहसँग पाँच बुँदे सहमति गरेका छन् ।
एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिन्ह एउटै बनाउन सहमति गरेका छन् भने मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छन् ।
सहमति पत्रमा दुर्गा सोव–संयोजक, नेसपा(नयाँ शक्ति), सुदन किराँती–संयोजक , प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार– निवर्तमान प्रमुख सचेतक, राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर गरेका छन् ।
सहमति पत्र
देशको गम्भीर अर्थ–राजनीतिक सङ्कट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणका विरुद्ध भएको जेन–जी आन्दोलनको पृष्ठभूमिमा चुनौतिपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्यका साथ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधि सभाका निवर्तमान सदस्य सन्तोष परियार बीच निम्न सहमति सम्पन्न भएको छ ।

१- विभिन्न कालखण्डमा नेपाली जनताले नेतृत्व गरेका सबै खाले मुक्ति आन्दोलन देखि पछिल्लो जेन–जी आन्दोलन सम्मका महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइते, वेपत्ता योद्धाहरूप्रति उच्च सम्मान गर्दै उहाँहरूको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

२- एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिन्ह एउटै बनाउन सहमति जनाउदछौँ ।

३- मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौँ ।

४- देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गर्दछौँ ।

५- भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरुलाई हातेमालो गर्न अपिल गर्दछौँ ।
FACEBOOK COMMENTS