काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनबाट काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
श्रेष्ठलाई मंगलबार महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफ्नो कार्यकक्षमा शपथ गराएका हुन् ।
२०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त भएको पदका लागि मंसिर १६ गते उपनिर्वाचन भएको थियो । यस निर्वाचनका लागि २१ हजार २५ मतदाता भएको वडामा १० हजार ३७६ सदर मत थिए । अध्यक्ष श्रेष्ठ २ हजार ९०२ मत ल्याएर निर्वाचित भएकी हुन् ।
रिक्त पदमा पुष्प महर्जनले कार्यवाहक अध्यक्षका रूपमा काम गरिरहेका थिए ।
शपथ ग्रहण अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईँसहित अधिकारी उपस्थिति थिए ।
शपथपछि वडाध्यक्ष श्रेष्ठले आज नै पदबहाली गर्ने कार्यक्रम रहेको छ ।
FACEBOOK COMMENTS