धादिङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताएका छन् । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन कठिन हुने उनको भनाइ छ ।
नेपाली कांग्रेस धादिङका पूर्वसभापति स्व भरतप्रसाद उप्रेतीको १३औँ दिनको तिथिमा धुनिवेशी नगरपालिका–७ नौबिसेमा आयोजित श्रद्धाञ्जलीसभा सभापति देउवाले बहुमत ल्याउने वातावरण सृजना गर्नका लागि गुटको अन्त्य गर्न जरुरी रहेको धारणा राखे ।
“अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ । संविधानमा सबै जातिहरूको प्रतिनिधित्व भएको छ । कुनै एक पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ”, उनले भने, “बहुमत ल्याउने वातावरण बनाउनका निम्ति पार्टी एकता जरुरी छ । एकताको सुरुवात धादिङबाटै गर्नुहोस् ।”
कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराइदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरूरी रहेको बताए । स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा प्रतिशोधको भावनाले पार्टी कमजोर बन्ने उनको भनाइ थियो ।
FACEBOOK COMMENTS