काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (एससीएसएमएफ) ले नेपाली खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुई खेल व्यक्तित्वलाई ‘एससीएसएमएफ खेलकुद पुरस्कार २०२६’ प्रदान गरेको छ।
मंगलबार काठमाडौंको कमलादीस्थित होटल रोयल सिंगीमा आयोजित विशेष समारोहमा नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्के र राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछानेलाई सम्मान गरिएको हो।
फाउण्डेसनले बक्सिङ खेलको विकास र प्रवद्र्धनमा दीर्घकालीन योगदान पुर्याएको कदर गर्दै उमेश मास्केलाई सम्मान गरेको जनाएको छ। मास्केले सन् १९८० को मस्को ओलम्पिक र १९८४ को लस एन्जलस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए। सक्रिय खेल जीवनपछि पनि उनले प्रशिक्षक तथा नेपाल बक्सिङ संघको नेतृत्वमार्फत बक्सिङ खेलको विकासमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।
यस्तै, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिचान स्थापित गर्न योगदान पुर्याएको तथा एकदिवसीय अन्तर्राष्ट्रिय (इम्क्ष्) क्रिकेटमा सबैभन्दा छिटो २०० विकेट पूरा गर्ने विश्व कीर्तिमान कायम गरेको उपलब्धिको कदर गर्दै सन्दीप लामिछानेलाई सम्मान प्रदान गरिएको फाउण्डेसनले जनाएको छ।
विदेशमा रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेका लामिछानेको तर्फबाट काठमाडौं जिल्ला क्रिकेट संघका सचिव तथा पूर्व राष्ट्रिय खेलाडी किरण शमशेर जबरा राणाले सम्मान ग्रहण गरेका थिए। भिडियो सन्देशमार्फत लामिछानेले सम्मानप्रति खुशी व्यक्त गर्दै स्वर्गीय शरद चन्द्र शाहाले नेपाली खेलकुदको विकासमा पुर्याएको योगदानको स्मरण गरेका थिए।

पुरस्कारस्वरूप दुवै खेल व्यक्तित्वलाई जनही दुई लाख ५० हजार रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिएको थियो।
फाउण्डेसनका अनुसार नेपाली खेलकुदको विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरिएको हो। यसअघि २०२४ मा बैकुण्ठ मानन्धर र एरिका गुरुङ तथा २०२५ मा राजुकाजी शाक्य र अरुणा शाहीलाई पनि यही सम्मान प्रदान गरिएको थियो।