काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार पनि दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिन २१ अंकमाथिले बढेको नेप्से सूचक आज (मंगलबार) थप ११ दशमलव २२ अंकले बढ्दै १८ सय ५८ दशमलव ७६ अंकमा उक्लिन पुगेको हो ।
यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २ दशमलव ४६ अंकले बढ्दै ३५८ दशमलव १९ अंकमा उक्लिएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले जनाएको छ । त्यस्तै निर्जीवन बीमा समूह अरु १२ वटा उपसूचक धनात्मक भएका छन् । निर्जीवन बीमा समूहको उपसूचक भने आज ० दशमलव १८ प्रतिशतले घटेको छ ।
११ अंकले नेप्से सूचक बढेको यस दिन झन्डै अर्ब रुपैयाँ (९९ करोड ६५ लाख ८६ हजार) बराबरको कारोबार भएको छ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ दशमलव १६ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ दशमलव २६ प्रतिशतले घट्न पुगेको छ ।
FACEBOOK COMMENTS