काठमाडौं । देशको राजनीतिक परिवर्तनसँगै नेपालको शेयर बजारले पनि आफ्नो मार्गचित्र परिवर्तन गर्ने सङ्केत देखाएको छ ।
बहुप्रतिक्षित सरकार गठन भए पनि शेयर बजारमा अपेक्षित उत्साह आउन सकेको छैन । बरु करिब दुई हजार ९०० बिन्दुसम्म पुगेर ‘करेक्सन’ हुँदै फर्किएको अवस्था छ । लगानीकर्ताले दैनिक उतारचढावको अवस्था सामना गरिरहेका छन् ।
हाल नेपालमा राजनीतिदेखि शेयर बजारसम्मका केही प्रभावशाली खेलाडीहरू सरकारको निगरानी र धरपकडमा परिरहेका छन् । यसले छोटो समयका लागि बजारमा ‘प्यानिक’ अवस्था सिर्जना गरे पनि दीर्घकालीन रूपमा हेर्दा यसलाई सकारात्मक सङ्केतका रूपमा लिन सकिन्छ ।
बजारमा कृत्रिम रूपमा बढाइएका (म्यानुपुलेटेड) कम्पनीहरूको मूल्य घट्ने क्रममा छ भने वास्तविक (जेन्युन) र निरन्तर लाभांश वितरण गर्दै आएका कम्पनीहरूका शेयर मूल्य अझै पनि ‘अन्डरभ्यालु’ देखिएका छन् । सरकारको कडाइ र नियमनका कारण अब शेयर बजारमा छलकपट गर्नेहरू बाहिरिने अवस्था आउनेछ, जसले गर्दा राम्रो कम्पनीहरूको मूल्य आकर्षक बन्ने सम्भावना प्रवल छ ।
सामान्यत: नयाँ सरकार गठन भए पनि नीतिगत स्थिरताको स्पष्ट सङ्केत आइनसक्दा लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा हुनु, ‘प्रफिट बुकिङ’को लहर चल्नु, तरलता र ब्याजदरको प्रभाव देखिनु र ठूला लगानीकर्ताको मनोविज्ञानका कारण अहिले शेयर बजारमा उतारचढाव आइरहेको अनुमान गर्न सकिन्छ ।

तर, बजारमा अहिले देखिएको यो उतारचढाव स्थायी होइन, जब सरकारले आफ्ना आर्थिक प्राथमिकताहरू स्पष्ट पार्छ र पूँजी बजार सुधारका लागि ठोस कदमहरू चाल्छ, तब बजारले एउटा निश्चित दिशा समात्ने अपेक्षा गर्न सकिन्छ । अहिलेको समयमा हल्लाको पछि नलागी दीर्घकालीन सोच राखेर कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गर्नु नै बुद्धिमानी हुन्छ ।

खराब समयमा धैर्यताका साथ बसेका लगानीकर्ताहरूका लागि आगामी दिनहरू लाभदायक हुने सङ्केत देखिन्छ ।