काठमाडौं । शुक्रवारदेखि आन्दोलनमा रहेका शेयर लगानीकर्ताहरूको आन्दोलन स्थगित भएको छ । शुक्रवारदेखि आन्दोलनमा रहेका शेयर लगानीकर्ताहरूले आज विभिन्न ब्रोकर कार्यालयमा ताला लगाएर अर्थ मन्त्रालय पुगेका थिए ।
मन्त्रालयले साविककै व्यवस्था लागू हुन्छ भनि लगानीकर्ताहरूलाई स्पष्ट पारेपछि आन्दोलन स्थगित गरिएको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।
गत शुक्रवारदेखिनै आन्दोलन जारी राखेका लगाकर्ताहरूले कर नीति खारेजीको माग राख्दै आएका थिए । लगानीकर्ताहरूले सरकारले नीति खारेज नगरेसम्म आफ्नो आन्दोलनमा सहयोग गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ब्रोकरहरूलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।
धितोपत्र बजारका नियमित कारोबार गर्ने लगानीकर्तालाई सरकारले कर लगाउने उद्घोष यस वर्षको आर्थिक विद्येयकमार्फत गरेपछि लगानीकर्ता आन्दोलित बनेका हुन् । हाल लगानीकर्ताले नाफा भएको खण्डमा संस्थागतको हकमा १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशतसम्म पुँजीगत लाभकर मात्र तिर्दै आएका छन् ।
FACEBOOK COMMENTS