काठमाडौं । आगामी आर्थिक वर्ष (२०८१÷०८२) को बजेटले सेयर बजारलाई समावेश नगरेको कारण यो साता बजारमा तीव्र उत्तारचढाव आएको छ ।
बजेटपछि घट्न थालेको सेयर बजारमा पछिल्लो सयम झिनो सुधार देखिएको छ । अघिल्लो साताको अन्तिम सेयर कारोबार भएको दिन बिहीबार नेप्से २०६९.५४ अंकमा थियो । यो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से बढेर २०७७.७८ अंकमा पुगेको छ । बजेटपछिको दुई दिनमा नेप्सेमा ४३ अंकको गिरावट आएको थियो । यो साता भने नेप्सेमा केही सुधार देखिएको हो ।
साताको आइतबार २०८३.०५ अंकमा पुगेको सेयर बजार सोमबार फेरि घट्ेर २०७९.०७ अंकमा झर्यो । मंगलबार पुनः लय समातेर २०८५.३० अंकमा पुग्यो । बुधबार सेयर बजार फेरि घटेर २०७९.७२ विन्दुमा झ¥यो । बुधबारको गिरावटले बिहीबार पनि निरन्तरता पायो । बिहीबार १.९३ अंकले परिसूचक घटेर २०७७.७८ विन्दुमा झर्यो ।
समग्रमा यो साता सेयर बजारमा उतारचढाव देखिएको छ । बिहीबार ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबारसम्ममा कुल बजार पुँजीकरण ३२ खर्ब ९४ अर्ब ७४ करोड १७ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
सेयर बजारमा उतारचढाव देखिनुमा बजेटले सम्बोधन गर्न नसकेकोलाई मानिएको छ । सेयर विज्ञ अम्बिर बोगटीले बजेटले सेयर बजारलाई नछोएको कारण लगानीकर्तामा निराशा देखिएको बताएका छन् । राजनीतिक अस्थिरताले पनि सेयर बजारमा प्रभाव पारेको छ । तत्कालीन शेर बहादुर नेत्रृत्वको सरकार परिवर्तन भएपछि अर्थमन्त्री प्रकाशशरण महतको ठाउँमा नयाँ अर्थमन्त्रीको रुपमा वर्षमान पुन आए ।
२०८१/०८२ को बजेटमा धितोपत्र बोर्ड, नेप्सेलगायतको संरचनागत सुधार गर्ने मात्रै भनिएको छ । त्यसबाहेक बजारलाई प्रत्यक्ष फाइदा पुग्ने कुनै नीति बजेटमा नआउँदा लगानीकर्ताहरूमा निराशा देखिएको हो ।
उनले आफू आउनेबित्तिकै सेयर बजारका लागि सुधारको बाटो पहिचान गरी सुधारका काम गर्ने प्रतिवद्धता जनाए । त्यसको लगत्तै सेयर बजार सुधारका कार्ययोजना ल्याउन मातहतका निकायलाई निर्देशन दिए । यी कुराहरुलाई हेरेर लगानीकर्ताले बजेटमा पुँजी बजारसम्बन्धी विषयले प्राथमिकता पाउने अपेक्षा गरेका थिए ।
तर, सेयर बजार सुधार्ने योजना बजेटका पूरानै बुँदाहरूमा संकुचित भए । बजेटमा धितोपत्र बोर्ड, नेप्से लगायतको संरचनागत सुधार गर्ने भनिएको छ । त्यसबाहेक बजारलाई प्रत्यक्ष फाइदा पुग्ने कुनै नीति बजेटमा नभेट्दा लगानीकर्ताहरू अन्योलमा परेको कारण बजारमा निराशा आएको विज्ञरुले आँकलन गरेका छन् ।
यतिखेर अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा लागिसकेको छन् । बजेटले कतिपय व्यवस्थाहरूको कार्यान्वयन मौद्रिक नीतिमार्फत गरिने संकेत गरेको छ । साथै पछिल्लो समय नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति लचक किसिमको आउने बताइसकेका छन् । सोही कराण लगानीकर्ताहरू मौद्रिक नीतिको पखाईमा रहेका छन् ।
मौद्रिक नीतिपछि मात्रै सेयर बजारको दिशा स्पष्ट हुने अपेक्षा गरिएको छ । लचक किसिमको आउने भनिएको मौद्रिक नीतिमा सेयर बजारका समस्या सम्बोधनका लागि के कस्ता नीति आउँछन्, लगानीकर्ता पर्खाइमा बसेका छन् ।
FACEBOOK COMMENTS