काठमाडौं । यो साता शेयर बजारमा ९५ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
गत साता ७३ अर्ब २३ करोडबराबरको शेयर खरिदबिक्री भएको थियो । कारोबार रकम बढेसँगै नेप्से परिसुचक पनि १८७ अंकले बढेको छ । नयाँ सरकार गठन र नयाँ मौद्रिक नीति आएसँगै पुँजी बजारमा उछाल आएको हो ।
यो साता प्रतिदिन औषतमा १९ अर्ब १४ करोड रूपैयाँको कारोबार भएको छ । गत साता औषतमा १४ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको थियो ।
साताको पहिलो दिन आइतबार १५ अर्ब ६९ करोड ८० लाख रूपैयाँको शेयर कारोबार भएको थियो । सोमबार करिब ४ अर्ब रूपैयाँले बढेर १९ अर्ब ४४ करोड ३ लाख रूपैयाँको कारोबार भएको थियो । मंगलबार कारोबार रकम घटेर १७ अर्ब १९ करोडमा खुम्चिएको थियो । बुधबार भने अहिलेसम्मकै उच्च २१ अर्ब ९१ करोड ८८ लाख रूपैयाँको कारोबार भएको थियो । साताको अन्तिम दिन बिहीबार २१ अर्ब ४८ करोड ५२ लाख रूपैयाँबराबरको शेयर खरिद बिक्री भएको छ ।
साताको नेप्सेलाई हेर्दा आइतबार कारोबार सुरु हुँदा नेप्से परिसूचक २५६८ अंकमा थियो । आइतबारको कारोबारपछि २६८१ अंकमा पुगेको हो । सोमबार २६६१ अंकमा, मंगलबार २६९६, बुधबार २७६० र बिहीबार २७५५ अंकमा नेप्से पुगेको छ ।
नयाँ सरकार गठनपछि शेयर बजारमा २२ प्रतिशतको वृद्धि भएको छ । बजार बढेसँगै करोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । लगातार ५ हप्तादेखि बजार बढ्ने क्रम रोकिएको छैन । छोटो समयमा नेप्से धेरै बढेकोले अब बजारमा करेक्सन आउने सम्भावना बढेको छ । मौद्रिक नीति आएसँगै शेयर बजारतर्फ लगानीकर्ता आकर्षित भएका हुन् । लगानीकर्ताको मनोबल बढ्दा अहिले बजारमा कारोबार रकम पनि उच्च भएको हो । इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बैंकमा लगानीयोग्य रकम पर्याप्त भएको र कर्जा लिनका लागि सहज भएकाले पनि शेयर कारोबार बढेको बताएका छन् ।
विगतमा घटेर न्यून बिन्दुमा पुगेको शेयर बजारमा अहिले राष्ट्र बैंकले लचक नीति लिँदा लगानीकर्ताको मनोबल बढेको छ । स्थायी सरकार बनेकाले पनि लगानीको वातावरण सिर्जना भएको, नीतिगत स्पष्टता भएको लगायतका कारण लगानीकर्ता उत्साहित भएको आकलन गरिएको छ । मौद्रिक नीतिमा लचकता आएपछि त्यसबाट सहज भएको लगानीकर्ताहरूले बताउने गरेका छन् । गत आइतबार ४२ खर्ब ५४ अर्ब ८६ करोड रूपैयाँ रहेको शेयर बजारको कुल पुँजीकरण बिहीबारसम्ममा ४३ खर्ब ७२ अर्ब ३६ करोड रूपैयाँ पुगेको छ ।
नेप्सेको कारोबारको प्रकृतिलाई हेर्दा यसमा उत्तार चढाव आउनुलाई स्वभाविक मान्ने गरिन्छ । तर मुलुकको अर्थतन्त्रको सूचकांकमा भने कुनै परिवर्तन आएको छैन । यसले अहिले भइरहेको शेयर कारोबार र नेप्सेको वृद्धिलाई निरन्तरता दिन सक्ने सम्भावानलाई देखाउदैन् । त्यसैले यसतर्फ पनि लगानीकर्ताले बेलैमा सोच्नु पर्ने समय आएको छ ।
FACEBOOK COMMENTS