काठमाडौं । ‘विश्व लगानीकर्ता सप्ताह, २०२४’का अवसरमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले धितोपत्र बजारका लगानीकर्ताका लागि विभिन्न आठ सन्देशहरू जारी गरेको छ ।
यस अवसरमा सीडीएससीले आफूले बिक्री गरेको धितोपत्रको हस्तान्तरण (ई-डीआईएस) तथा आफ्नो लागतको भारित औसत (डब्ल्यूएसीसी)को गणना गरी धितोपत्रको स्वामित्व अवधिसमेतको विवरण प्रविष्टि गर्ने कार्य दोस्रो दिन अर्थात् टी+१ भित्रै सम्पन्न गरिसक्नुपर्ने जनाएको छ ।
यस्तै डिम्याट खातामा रहेको धितोपत्रमध्ये फ्रि ब्यालेन्स लेखिएको धितोपत्र मात्र बिक्री योग्य हुने हुँदा धितोपत्र बिक्री गर्नुपूर्व आफ्नो खातामा मौज्दात रहेको धितोपत्रको स्थिति हेर्न सुझाएको छ ।
सार्वजनिक निष्कासन भएका धितोपत्रको खरिद आवेदन दिनु अगाडि उक्त धितोपत्र निष्कासन गर्ने कम्पनी तथा उसले जारी गरेको धितोपत्रको बारेमा पर्याप्त रूपमा जानकारी लिन पनि आग्रह गरेको छ ।
सीडीएससीका अनुसार सार्वजनिक निष्कासन भएका धितोपत्रको खरिद आवेदन दिनुपूर्व आफ्नो बैंक खातामा पर्याप्त रकम रहेको यकिन गर्नुपर्छ ।
हितग्राहीले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्रमा डिम्याट खाताको वार्षिक शुल्क तिर्नुपर्ने र यसरी समयमा वार्षिक शुल्क नतिर्ने डिम्याट खाताहरू सम्बन्धित निक्षेप सदस्यले रोक्का राख्ने हुँदा आफ्नो खाता रोक्का हुन नदिन समयमा नै डिम्याट खाता नवीकरण गर्न सुझाव दिएको छ ।
सीडीएससीले सञ्चालनमा ल्याएको सेन्ट्रल केवाईसी प्रणालीमा आबद्ध भई आफ्नो केवाईसी अद्यावधिक गराउन सुझाइएको छ ।
मेरो शेयर सेवा प्रयोग गर्दा सीडीएससीले सञ्चालन गरेको वेबसाइट ठेगाना वा सीडीएससीले तयार पारेको मोबाइल एपमार्फत मात्र सेवा प्रयोग गर्न आग्रह गरिएको छ ।
आफ्नो ब्राउजरमा अनधिकृत व्यक्ति वा संस्थाले तयार पारेका विभिन्न विजेटहरू प्रयोग गर्दा वा अनाधिकृत एपहरूको प्रयोग गरी सेवा प्रयोग गर्दा आफ्नो विवरण उक्त एप वा विजेटको विकास गर्ने व्यक्तिको पहुँचमा पुग्ने जोखिम रहने हुँदा यस्ता अनधिकृत एप वा विजेटहरूको प्रयोग नगर्न पनि सुझाव दिइएको छ ।
FACEBOOK COMMENTS