काठमाडौं। मंगलबार ०.२१ अंकले घटेको नेप्सेले बुधबार पनि निरन्तरता पाएको छ।
बुधबार पनि नेप्से सूचक १.८८ को झिनो अंकले घटेको हो। यो दिन नेप्से २६७५.५१ अंकमा बन्द भएको छ।
तिहारपछि बजार बढ्ने लगानीकर्ताको अनुमान रहे पनि खुलेको दुई दिनसम्म बजारले लामो उतारचढाव अनुभव गरेन। सूचकमा झिनो अंकको उतारचढाव देखिए पनि कारोबार भने मंगलबारको तुलनामा बुधबार करिब एक अर्बले बढेको छ।
मंगलबार ४ अर्ब २० करोड रूपैयाँको शेयर कारोबार भएकामा बुधबार बढेर ५ अर्ब २२ करोड रूपैयाँको कारोबार भएको छ।
यो दिन कारोबारमा आएका कम्पनीमा कमाउने धेरै र गुमाउने थोरै छन्। सूचकले स्थिरता खोजिरहँदा पनि कारोबारमा आएका अधिकांश कम्पनीहरूले कमाएका हुन्।

समग्रमा आज कारोबारमा आएका ३२० कम्पनीमध्ये १२१ कम्पनीका लगानीकर्ताले कमाउँदा ११७ कम्पनीका लगानीकर्ताले मूल्य गुमाएका छन्।

कमाउनेमा आज नारायणी विकास बैंक अगाडि छ। यो बैंकको शेयरमूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लाग्न पुग्यो भने बलेफी हाइड्रो, पिपुल्स हाइड्रोको मुल्य पनि सर्किट लेबलमै बढ्न पुग्यो।

यता घट्नेमा भने कुथली बुखारी हाइड्रो अगाडि छ। यो कम्पनीको शेयरमूल्य ९.५५ प्रतिशतले घटेको छ। योबाहेक आज घट्नेमा नेपाल फाइनान्स, समाज लघुवित्त लगायतका कम्पनीहरू पनि अगाडि देखिएका छन्।