नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा यहि हप्ता सार्वजनिक गर्ने तयारी गर्दै गर्दा शेयर बजारका लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् ।
मौद्रिक नीतिले हालको तरलताको अवस्था, कर्जा निक्षेप अनुपात, ब्याजदर र शेयर धितोकर्जाको सीमाका बिषयमा केही लचकता अपनाउने आसामा लगानीकर्ता रहदा बिक्रीचाप समेत घटेको छ । जसले गर्दा सोमबारको बजार पनि सामान्य बढेको छ । लगानीकर्ता पर्ख र हेरको अवस्थामा रही सस्तोमा शेयर बेच्न नचाहँदा नेप्सेमा सामान्य सुधार भएको छ ।
सोमबार नेप्से सूचक ७.९० अंकले बढेको २७६५.४४ अंकमा पुगेको छ । यसदिन २२५ कम्पनीको ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको भन्दा कम हो । आइतबार चार अर्ब बढीको शेयर किनबेच भएको थियो ।
यस दिन महालक्ष्मी विकास बैंकको सर्वाधि ३४ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेपाल दूरसञ्चार कम्पनीको पनि २९ करोडभन्दा बढीको शेयर कारोबार भयो ।
सोमबार मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेर कारोबार भएको छ। त्यसैगरी, चन्द्रागिरी हिल्सको शेयरमूल्य ९.७५ प्रतिशत बढेको छ। एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य धेरै घटेको छ ।
FACEBOOK COMMENTS