१०.४१ अंकले घट्याे नेप्से, ९ अर्ब १२ करोडमाथिकाे काराेबार
कर्पोरट खबर
3:14 pm, आइतबार, माघ १३, २०८१
काठमाडौं । शेयर बजार घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक १०.४१ विन्दुले घटेर २६४३.९३ अंकमा अडिएको छ । ९ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ५ वटा समूहको सूचक सकारात्मक देखिएको छ ।
२६ सयको लेबलमा रहेको बजारले अघि बढ्न खोज्दै गर्दा पुनः एकपटक दबाबको सामना गरेको छ । सूचक सामान्य दबाबमा रहे पनि कारोबार रकमले भने क्रमशः तेजी लिंदै गएको छ । कारोबार रकम क्रमशः बढ्न थाल्यो भने क्रेताहरु सक्रिय भएको र त्यसले केही करेक्सनहरुका बाबजुद पनि बजारमा सकारात्मक गति ल्याउन सक्ने विश्लेषण गर्न सकिन्छ । अहिले एकुमुलेसन फेज चलिरहेको धेरै अनुमान गरेका छन् ।
नेप्से तल्लो तहमा रहेको अनि समग्रमा साइडवेजमा रहँदा कारोबार रकममा भने वृद्धि भइरहेकाले शेयरहरु एकुमुलेसन भइरहेको अनुमान गर्न सकिन्छ । यद्यपि, बजारको गति र प्रवृत्तिका बारेमा गरिएका यी अनुमान मात्र हुन् । आगामी दिनमा बजार यस्तै हुन्छ भनेर ठोकुवा गर्न भने सकिंदैन ।
त्यसो त शेयर बजार करिब ६ महिनायता समग्रमा हेर्दा बढ्न सकेको छैन । त्यसअघि ३ हजारको लेबलमा पुगेको नेप्से अहिले २६ सयकै एरियामा छ । बजार लामो समयदेखि २४ सयदेखि २७ सयको लेबलमा घुमिरहेको छ । योभन्दा माथि वा तल जान सकेको छैन ।
लामो समयदेखि नेप्से यही ३ सय विन्दलाई आधार मानेर घुमिरहेको छ । नेप्सेले करिब ६ महिना यो तहमा बिताएकाले अब सकारात्मक गति लिन्छ भन्नेमा धेरै लगानीकर्ता आशावादी रहेको पाइन्छ । यद्यपि, अपेक्षा अनुसार अझै बजार अघि बढिहाल्न भने सकेको देखिंदैन ।
गएको साता बजार समग्रमा बढेको थियो । तर अन्तिम दिनमा नेप्से घट्यो । यसरी हेर्दा बजारमा ट्रेडरहरु निकै हावी भएको देखिन्छ । अलिकति बढ्ने बित्तिकै बिक्री गरिहाल्ने प्रवृत्ति देखिन्छ । यसकारण पनि नेप्सेल अपेक्षाकृत गति लिन नसकेको जानकारहरु बताउँछन् । शेयर बजारमा बैंक ब्याजदर, तरलता, अर्थतन्त्रको अवस्था लगायतका पक्षले महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।
विगत लामो समयदेखि बजार करेक्सन र साइडवेजमा चलेकाले पनि आम लगानीकर्ताको मनोबल बलियो बन्न नसकेको अनुमान गरिएको छ । यसैकारण अलिकति बढ्ने बित्तिकै कारोबारी हावी हुने गरेका हुन् । तर बजारले साँच्चिकै बुल रन समायो भने होल्ड गर्नेहरुले नै बढी लाभ लिन सक्नेछन् । शेयर बजारमा फराकिलो वृद्धिका लागि लार्ज क्याप तथा फन्डामेन्टल कम्पनीहरुले लीड गर्नुपर्ने हुन्छ ।
अहिले अधिकांश कम्पनीको साधारण सभा सम्पन्न भइसकेको छ भने धेरै कम्पनीले शेयरधनीको खातामा लाभांश पनि पठाउन थालिसकेका छन् । यस्तै, सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमासको वित्तीय विवरण पनि धेरैको आइसकेको छ ।
अब बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र सस्तो ब्याजदरले सेयर बजारलाई माथितिरै लैजान बल गर्ने देखिन्छ । यस्तै, लामो समयसम्म बजार घट्दा सेयर मूल्यहरु सस्तो भएका छन् । यसले पनि क्रेताहरुलाई क्रमशः आकर्षित गर्ने अनुमान गर्न सकिन्छ ।
त्यसो त बजार एकोहोरो ढंगले बढ्ने वा घट्नेमात्र गर्दैन । बढ्दो क्रममा रहेको बजारमा पनि पटकपटक करेक्सन र साइडवेजका चरणहरु हुने गर्छन् ।
सस्तो ब्याजदरका कारण आम लगानीकर्ताले कर्जा लिएर शेयर बजारमा प्रवेश गर्नेक्रम बढेको तथ्यांकले देखाएको छ । तर सर्वसाधारण लगानीकर्ताले भने जहिले पनि सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरु छानेरै योजनाबद्ध ढंगले लगानी गर्दा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने देखिन्छ ।
यस दिन ३ सय १८ कम्पनीको १ करोड ५७ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । ३९ करोड ५३ लाखभन्दा बढीसहित कारोबार रकममा सप्तकोशी डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानम क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।
FACEBOOK COMMENTS