काठमाडौं । भारतीय शेयर बजार नियामक निकाय सेबीकी पूर्वप्रमुख माधबी पुरी बुचमाथि भ्रष्टाचारको मुद्दा चलाउने तयारी भएको छ।
मुम्बईको विशेष अदालतले भ्रष्टाचार निवारण ब्युरोलाई बुचसहित अन्य ५ जना अधिकारीविरुद्ध शेयर बजारमा कथित धोकाधडी र नियम उल्लंघनको आरोपमा मुद्दा दायर गर्न आदेश दिएको छ। न्यायाधीश शशिकान्त एकनाथराव बांगरले नियामकीय कमजोरी र मिलेमतोका घटनामा निष्पक्ष अनुसन्धानको आवश्यकता रहेको बताउँदै ब्युरोलाई निर्देशन दिएका छन्।
अदालतले यो मुद्दाको निगरानी गरी ३० दिनभित्र प्रतिवेदन बुझाउन पनि भनेको छ।
हालै आफ्नो ३ वर्षे कार्यकाल पूरा गरेकी बुचको स्थानमा तुहिन कान्त पान्डे सेबीको नयाँ प्रमुख बनेका छन्।
यसअघि, एक उजुरीकर्ताले सेबीका अधिकारीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको र बजारमा हेराफेरीलाई प्रोत्साहन गरेको आरोप लगाएका थिए। उजुरीकर्ताले निर्धारित मापदण्ड पूरा नगरेका कम्पनीहरूलाई सूचीकरणको अनुमति दिएर सेबीका अधिकारीहरूले कर्पोरेट धोकाधडीको बाटो खोलिदिएको दाबी गरेका छन्।
भारतकी पहिलो महिला सेबी प्रमुख बुचमाथि केही समयअघि अमेरिकी अनुसन्धान कम्पनी हिन्डनबर्गले पनि धोकाधडीमा संलग्न रहेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गरेको थियो। –एजेन्सी
FACEBOOK COMMENTS