काठमाडौं । नयाँ सरकार बनेयता तीव्र गतिमा बढेको शेयर बजारमा अहिले फेरि गिरावट आइरहेको छ । २ हजार विन्दुबाट केही दिनमै ३ हजार विन्दुमा पुगेको शेयर बजार फेरि घटेर २ हजार ६ सय विन्दुको आसपास रहेपछि लगानीकर्ताहरू अहिले ‘पर्ख र हेर’ को अवस्थामा छन् ।
गत असार १६ गते २०३७ विन्दुबाट बढ्न सुरू गरेको बजार ४६ कारोबार दिनमा ४७ प्रतिशतले बढेर साउन ३१ गते ३ हजार विन्दुमा पुगेको थियो । जुन लामो समयपछि घटेको बजारका लागि नयाँ कीर्तिमान थियो । त्यसपछि नेप्से परिसूचकमा निरन्तर गिरावट आयो । यसलाई शेयर बजारका जानकारहरूले गिरावट नभई करेक्सन भएको बताउँदै आएका छन् ।
पहिले बजार बढ्दा औसतमा कारोबार रकम १० खर्ब ५ अर्ब रूपैयाँ थियो भने अहिले घट्दो बजारमा औसतमा १६ अर्ब रूपैयाँ रहेको छ । यस्तै २० दिनको औसत कारोबार रकम १५ अर्ब रूपैयाँ रहेको छ । बजार २ हजार ५० देखि २ हजार ५ सय अंकमा बसेको भए नयाँ लगानीकर्ताले प्रवेश पाउने थिए । तर, बजार बढ्दो क्रममा नरोकिएर ३ हजार विन्दुमा पुगेका कारण नयाँ लगानीकर्ताले बजारमा प्रवेश नै पाउन सकेनन् । त्यसैको असर अहिले बजारमा परेको हो ।
बजार घट्नुपर्ने र बढ्नुपर्ने कुनै कारणविना नै तलमाथि भइरहेको विश्लेषकहरूले बताएका छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बजार करेक्सन भई अगाडि बढ्दै जाने बताइन् ।
टीएमएस प्रयोगकर्ता २३ लाख नाघ्यो
चालु आवको साउन मसान्तसम्ममा टीएमएस प्रयोगकर्ता २३ लाख ३१ हजार ३५० पुगेको छ । विशेषगरी धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न टीएमएसमा जोडिनेको संख्या बढिरहेको छ । शेयर बजार उकालो लागेसँगै टीएमएसमा आबद्ध हुनेहरू बढेको हो । बजार बढेको समयमा दैनिक करिब २ लाख ५० हजारजतिले टीएमएस चलाउँछन् भने घटेका बेला ५०-६० हजारले टीएमएस प्रयोग गर्ने गरेको नेप्सेले बताएको छ ।
कुनै समय आईपीओ फर्म भर्न दिनभर लाइन बसेर आवेदन दिनुपर्थ्यो । यस्तै दोस्रो बजारमा शेयर खरिद-बिक्रीका लागि ब्रोकर कार्यालय गएर ‘अर्डर’ दिनुपर्थ्यो । समयसँगै अनलाइन कारोबार सुरू भयो, जसले शेयर कारोबारलाई सहज बनाएको छ ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाता संख्या ६३ लाखभन्दा बढी पुगेको छ । यस्तो खाताको संख्या ६३ लाख ८५ हजार पुगेको छ । त्यसैगरी मेरो शेयर खाता खोल्नेको संख्या ५४ लाख ४२ हजार ८३२ रहेको छ ।
के हो टीएमएस ?
ट्रेड म्यानेजमेन्ट सिस्टमको संक्षिप्त रूप नै टीएमएस हो । अनलाइन शेयर कारोबार गर्न यसको प्रयोग गरिन्छ । आईपीओ बेच्नदेखि दोस्रो बजारमा सूचीकृत कम्पनीका शेयर कारोबार गर्न टीएमएस जरूरी हुन्छ । टीएमएस आएपछि लगानीकर्ताले इन्टरनेट भएका जुनसुकै ठाउँबाट पनि सहजै शेयर कारोबार गर्न थालेका छन् । टीएमएस आउनुअघि लगानीकर्ता शेयर खरिद-बिक्रीका लागि ब्रोकर कार्यालयमै पुग्नुपर्थ्यो । टीएमएसले ब्रोकर कार्यायल जानुपर्ने अवस्था अन्त्य गरेको छ ।
टीएमएस सेवा कसरी लिने ?
टीएमएस खोल्न सुरूमा ब्रोकर कार्यालय जानुपर्छ । नेपालभरका जुनसुकै ब्रोकर कार्यालयमा गएर पनि टीएमएस सेवा लिन सकिन्छ । तर, टीएमएस लिँदा ब्रोकर चयनमा ध्यान दिनुपर्ने लगानीकर्ता सुझाउँछन् । सेवा छिटो छरितो दिने, खरिद गरेको शेयर समयमै डिम्याट खातामा पठाइदिने र बेचेको शेयरको भुक्तानी समयमै दिने ब्रोकर राम्रा हुने उनीहरू बताउँछन् ।
टीएमएस सेवा सञ्चालन गर्न कुनै शुल्क लाग्दैन । ब्रोकर कार्यालयमा केवाईसी फर्म अपडेट गराएपछि टीएमएसका लागि फर्म भर्नुपर्ने हुन्छ । त्यसपछि सोही दिन वा भोलिपल्टसम्म ईमेलमा टीएमएसको युजर नेम र पासवर्ड आउँछ । ब्रोकर कार्यालयको नम्बर ब्राउजरमा टीएमएस लगइन गर्दा नै उल्लेख हुन्छ । यसरी युजर नेम र पासवर्ड आइसकेपछि शेयर खरिद-बिक्री गर्न सकिन्छ ।
FACEBOOK COMMENTS