काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले आफू अर्थमन्त्रीमा आएपछि सेयर बजार घटेको भन्दै लगानीकर्तासँग भेट गरेका छन् ।
सोमबार अर्थमन्त्री महत स्वयंले सेयर बजारका प्रतिनिधिलाई डाकेर सुझाव लिएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग अर्थमन्त्री महतले सोमबार बिहान आधा घण्टा परामर्श गरेका हुन् । कुराकानीमा अध्यक्ष पौडेलसँगै ब्रोकर संघ, मर्चेन्ट बैंकर तथा अरु लगानीकर्ता पनि सँगै थिए ।
पूर्व अर्थमन्त्री विष्णु पौडेलको आगमनले सेयर बजारमा देखिएको उत्साह महत भित्रिँदा भने सेलाएको छ । अर्थमन्त्री प्रति आशावादी देखिएका सेयर लगानीकर्ताको मनोबल एक्कासी खस्किएको थियो ।
सेयर बजारका प्रतिनिधिहरुले महतलाई विद्यमान समस्या अवगत गराउँदै सक्दो छिटो समाधानमा जोड दिन सुझाएका हुन् ।
उनीहरुले सेयर बजार सुधारका लागि आवश्यक अल्पकालीन र दीर्घकालीन सुझाव दिएका हुन् । अर्थ मन्त्रालय र राष्ट्र बैंक दुवै निकायबाट लगानीकर्ताको मनोबल उकास्न आवश्यक रहेको औंल्याएका छन् ।
मार्जिन ऋणमा १२ करोडको सीमा हटाउने र १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्न आग्रह गरेका छन् ।
चुक्ता सेयर पूँजीको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ ।
वार्तामा अर्थमन्त्री महत तत्कालका लागि मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएका छन्।
महतले सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताउँदै आगामी दिनमा सम्वादलाई निरन्तरता दिने बताएका छन्।
FACEBOOK COMMENTS