काठमाडौं । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं ३२ को पाँचौ सम्मेलन सम्पन्न भएको छ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले मिसन ८४ नभएर मिसन रोजगारी, मिसन सुशासन, मिसन सामाजिक न्याय हुनुपर्ने बताएका छन् ।
उनले जनतासँग माओवादी रूपान्तरण सशक्त ढङ्गले अघि बढिरहेको बताएका छन् । यो अभियानबाट निरन्तर जनतासँगको एकता, सहकार्यलाई निरन्तरता दिँदै पार्टी अघि बढिरहेको उल्लेख गरे । नेता शर्माले बागमती प्रदेशका तमाम समस्याप्रति सरकारको ध्यानाकर्षण गरेको पनि जानकारी गराए ।
शर्माले भने– ‘हामीले ठुलो त्याग र बलिदानबाट रोपेको सङ्घीय गणतन्त्रको बिउबाट माओवादी आन्दोलनबाट जुन भूमिका निर्वाह भएको थियो, त्यो आन्दोलनलाई आज विकास गर्नुपर्ने आवश्यकता छ । हिजो रोपेको खेतीमा पर्याप्त समय दिन नसक्दा जनतामा देखिएको असन्तुष्टि माओवादी रूपान्तरण अभियानबाट त्यसमा मल जल गर्नुपर्छ भन्ने जनताको दृष्टिकोण छ ।’
जनताले सुकुम्वासी अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न, रोजगारीको वातावरण बनाउन आग्रह गरेको बताउँदै सरकारले यसका लागि काम गर्ने आफूले विश्वास गरेको उनले बताए ।
कार्यक्रममा माओवादी केन्द्रका नेताहरु झक्कु सुवेदी, शशि श्रेष्ठ, देव चौलागाईं, पवन कार्की लगायतले सम्बोधन गरेका थिए । वडा सम्मेलनबाट रामसुन्दर श्रेष्ठको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको छ ।
FACEBOOK COMMENTS