रुपन्देही । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको राजनीतिक अवस्थालाई सुधार गर्दै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताएका छन् ।
भैरहवामा आयोजित पार्टी सदस्य भेटघाट कार्यक्रममा उनले राजनीतिप्रतिको बढ्दो वितृष्णालाई आशामा बदल्न राजनीतिक दलहरू आत्मसुधारमा लाग्नुपर्ने र त्यसको सुरुआत कांग्रेसले गरिसकेको बताए ।
उपसभापति शर्माले विगतका राजनीतिक परिवर्तनमा कांग्रेसको भूमिका स्मरण गर्दै अब सुशासन र विकासको नेतृत्व गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताए । “तरल राजनीतिक परिस्थितिमा संयमित भएर जनताका मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ । सत्ता केन्द्रित सोचभन्दा माथि उठेर नागरिकको जीवनस्तर सुधारतर्फ ध्यान दिन जरुरी छ । यसका लागि कांग्रेसले सङ्कल्प गरिसकेको छ”, उनले भने ।
पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिँदै उपसभापति शर्माले गुटबन्दी त्यागेर टोलस्तरसम्म पुगेर जनताको गुनासा सुन्न र समाधानको प्रतिज्ञा गर्न आग्रह गरे । उनले मुलुकको आर्थिक सङ्कट र युवा पुस्तामा देखिएको नैराश्यताप्रति चिन्ता व्यक्त गर्दै नीतिगत सुधारको आवश्यकता औँल्याए । सत्ता समीकरणका खेलहरूभन्दा माथि उठेर जनताको जीविकोपार्जनमा सुधार ल्याउने गरी सरकारले काम गर्नुपर्ने र त्यसमा कांग्रेसले स्पष्ट दृष्टिकोण अगाडि सारेर काम गर्ने प्रतिबद्धता जनाए ।
नेता बालकृष्ण खाणले संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती देखिएको उल्लेख गर्दै यसको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्ने बताए । “संविधान र प्रजातन्त्रको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी कांग्रेसको हो । विगतमा देशको हितमा गरेका कामको निरन्तरता र नयाँ सुधारका काम अगाडि सार्दै पार्टीले देशको नेतृत्व गर्नेछ”, उनले भने ।

FACEBOOK COMMENTS