पोखरा । स्याङ्जाको हालको फेदीखोला गाउँपालिकामा जन्मिएकी शर्मिला शर्मा पोखरामा महिला प्याराग्लाइडरको रूपमा परिचित छिन् ।
स्याङ्जामै हुर्किएकी शर्मिलाको अहिले पोखरामै स्थायी बसोबास छ । स्याङ्जाबाट बसाइसराई गरी उनी पोखरामै बस्न थालेको धेरै भइसक्यो ।
पोखरामा १० वर्षदेखि ओपन स्काई प्याराग्लाइडिङ फर्म सञ्चालन गर्दै आएकी शर्मिला अहिले आफैं पाइलट पनि बनेकी छिन् । आफ्नो फर्मबाट प्याराग्लाइडिङ गर्ने महिला प्यासेञ्जरहरूले बारम्बार गर्ने एउटै प्रश्नले उनलाई आज पाइलट बनाएको हो ।
आफ्नो फर्मबाट प्याराग्लाइडिङ गर्ने प्यासेञ्जरहरूले उनलाई बारम्बार गर्ने प्रश्न ‘यहाँ महिला पाइलट छैनन् ?’ उनीहरूको त्यही प्रश्नको जवाफ दिन उनले साहसिक खेल प्याराग्लाइडिङ पढिन् । प्याराग्लाइडिङसम्बन्धी विस्तृत तालिम लिएर अनुमति लिएकी शर्मिलाले अहिले ढुक्कका साथ व्यावसायिक उठान गर्दै आएकी छिन् ।
उनले यात्रु उडाउन थालेको सात वर्ष बितेको छ । यो अवधिमा उनले तीन हजार जना आन्तरिक र बाह्य पर्यटक यात्रुलाई उडाएर सफलतापूवर्क अवतरण गराएकी छिन् । उनको कम्पनीले हालसम्म ५० हजार भन्दा बढी पर्यटकलाई सफलतापूर्वक प्याराग्लाइडिङ गराएको छ । उनले हाल १८ वटा प्यारासुटमार्फत यात्रुलाई सेवा दिइरहेकी छिन् भने धेरैले रोजगारी समेत पाएका छन् ।
२३ वर्षको उमेरमा प्रज्वल रञ्जितसँग विवाह गरेकी उनी श्रीमान्को साथ र हौसलाकै कारण प्याराग्लाइडिङ पाइलट बन्न सफल भएको बताउँछिन् । धेरैले आफूलाई साहसिक महिला उद्यमी भनेर सम्बोधन गर्ने गरेको पनि उनले सुनाइन् ।
पोखरामा प्यारासुटको सफल महिला पाइलटको पहिचान बनाएकी उनी पछिल्लो समय सामाजिक सेवाको क्षेत्रमा पनि क्रियाशील हुन थालेकी छिन् । कर्म फ्लाइट फाउन्डेशनको नेतृत्व सम्हालेका कारण समाजसेवाका क्षेत्रमा पनि उनी क्रियाशील रहँदै आएकी हुन् । जाँगरिली, मिलनसार र सहयोगी भावना भएकी शर्मिलाको धेरैजसो समय समाजसेवामा नै बित्ने उनका पति प्रज्वल रञ्जित बताउँछन् । जीवनको लक्ष्य सेवाभाव भए पनि प्याराग्लाइडिङ आफ्नो साहसिक सफलता भएको उनी बताउँछिन् ।
पर्यटकीय नगरी पोखरामा प्याराग्लाइडिङकै लागि धेरैजसो पर्यटक भित्रिन्छन् । त्यसैले पनि पोखरा प्याराग्लाइडिङको उत्कृष्ट गन्तव्य भएको भन्दै उनले प्याराग्लाइडिङकै कारण पोखराको पर्यटनले फड्को मारेको आफ्नो धारणा समेत सुनाइन् । तर, पछिल्लो समय पोखरामा पर्यटकको आगमनमा आएको कमीले भने उनलाई चिन्तित तुल्याएको छ ।
‘धेरै पर्यटकहरू प्याराग्लाइडिङ गर्ने भनेरै पोखरा भित्रिन्छन् । पोखरा यसका लागि उत्कृष्ट गन्तव्य हो भन्ने लाग्छ,’ उनले भनिन्, ‘हुन त स्याङ्जा, तनहुँको बन्दीपुर, धरानमा प्याराग्लाइडिङ हुने गरेता पनि चाप नभएको र कमर्शियल उडान हुन नसकेको अवस्थामा पोखराले भने फड्को मारेको छ ।’ कोभिडअघि चिनियाँ पर्यटक बढी आउने गरेको भए पनि अहिले त्यो क्रम घटेको उनको अनुभव छ । ‘पहिलाको जस्तो अवस्था अहिले छैन, पर्यटकको संख्या धेरै घटेको जस्तो लाग्छ,’ उनले भनिन् ।
आकाशमा उड्ने भएकाले केही जोखिम भए पनि चरा जसरी उड्न पाउँदा छुट्टै आनन्द हुने उनको अनुभव छ । महिला पाइलट देख्दा महिलाहरूका साथै पुरुष यात्रुहरू समेत मोटिभेट भएको देखेको उनले सुनाइन् । उनका अनुसार सिजन नभएकाले हाल पोखरामा दैनिक १५० को हारहारीमा मात्रै उडान भइरहेको छ ।
सैद्धान्तिक र प्रयोगात्मक गरी १० वटा भन्दा बढी परीक्षा दिएर आफूले पाइलटको लाइसेन्स लिएको उनले बताइन् । हरेक वर्ष पाइलटको सामान अर्थात् क्यानोफी, हार्नेस, हेलमेट, प्यारासुट परीक्षण गरेर मात्रै लाइसेन्स नवीकरण हुने गर्छ । ‘हामीले कोर्ष लिएर काम गर्नुपर्ने हुन्छ । सोलो उडान गरे मात्र दुई जना उडाउन पाइन्छ । साथै नागरिक उड्यन प्राधिकरणले दिएको लाइसेन्सबाट मात्रै उडाउन पाइन्छ । यो सिक्नका लागि २० देखि २५ लाख खर्च लाग्छ,’ उनले भनिन् ।
उनका अनुसार हरेक दिन नयाँ–नयाँ देशबाट आएका प्यासेञ्जरहरू हुन्छन् । उनीहरू उत्साहित अनि डरमा पनि हुन्छन् । सबै कुरा जान्न इच्छुक हुन्छन् । आकाशमा उड्दाउड्दै एक्सिडेन्टको कुरा पनि गर्छन् । केही समय त डर पनि लाग्छ तर बानी परेकाले खास समस्या लाग्दैन । तर, कसैलेचाहिँ रमाइलो कुरा पनि गर्नुहुन्छ । सबैसँग कुरा गरेर हिँड्छौँ । हरेक फ्लाइटमा छुट्टाछुटै अनुभव हुन्छ ।
उनले बताए अनुसार अहिले पोखरामा १५ जना मात्र महिला पाइलट छन् । कतिपय मान्छेले महिला पाइलट भनेपछि कोही हच्किने र डराउने गरेको र कतिपयले खुसी भएर आत्मविश्वास बढाउने गरेको अनुभव पनि उनले साटिन् । ‘हामीले सुरक्षालाई ध्यानमा राखेर नै उडान भर्ने हो । हरेक वर्ष उडान सामग्रीको चेक जाँच गर्ने गर्दछौँ । पाइलट र प्यासेन्जर दुवैको जीवनको उत्तिकै महत्व ठानेर हामी संवेदनशील र सचेत भएर उठान गरिरहेका हुन्छौँ,’ उनले भनिन् ।
ओपन स्काई प्याराग्लाइडिङ फर्मले प्याराग्लाइडिङ गर्न अहिले १२ हजार रूपैयाँमा फोटो, भिडिओ र बीमासहितको प्याकेज बनाएको छ । कोभिडअघि प्यारागलाइडिङको मूल्य विदेशीलाई १०० डलर थियो भने नेपालीलाई ८ हजार रूपैयाँसम्म थियो । तर, अहिले विद्यमान परिस्थितिलाई दृष्टिगत गरी छुट दिइएको पनि उनले बताएकी छिन् । उनका अनुसार अहिले १२ हजार रूपैयाँ शुल्क लाग्ने गर्दछ । ‘मैले सुरू गर्दा विदेशीका लागि १० हजार २०० रूपैयाँ र नेपालीका लागि ७ हजार रूपैयाँ थियो । तर, अहिले विदेशी र स्वदेशी दुवै प्रकृतिका पर्यटकका लागि समान १२ हजार रूपैयाँ लिने गरिएको छ,’ उनले भनिन्, ‘यहाँ बच्चादेखि वृद्धासम्मलाई एउटै मूल्य राखेका छौँ । हामी प्याराग्लाइडिङ गर्न अन्य देश जाने हो भने पनि २५० डलर तिर्नपर्छ ।’
FACEBOOK COMMENTS