काठमाडौँ । अन्य क्षेत्रको छाता संगठनसँगै सौन्दर्यकला व्यवसायी संघले पनि यस व्यवसायमा आवद्ध व्यवसायीहरुको हक र हितका लागि विगत १५ वर्षदेखि काम गर्दै आएको छ । विशेषगरी सहरी क्षेत्र मात्र नभई ग्रामीण तहसम्म पुगेर काम गर्दै आएको संघले बताएको छ । संघले विगतका दिनमा के गर्दै आएको थियो, वर्तमानमा के काम गरिरहेको छ र हाल व्यवसायीहरुको अवस्था कस्तो छ लगायतका विषयमा कर्पाेरेट खबरका लागि उज्ज्वलजंग शाहले संघकी केन्द्रिय उपाध्यक्ष सर्मिला खत्रीसँग लिएको अन्तर्वार्ता :
सौन्दर्य कला व्यवसायको अहिलेको अवस्था कस्तो छ ?
पहिलेको अवस्थामा अहिले सौन्दर्य व्यवसाय निकै फस्टाएको अवस्थामा छ । सौन्दर्यकला व्यवसायी संघले पनि अहिले व्युटिसियनहरुलाई सक्रिय गराइरहेको अवस्था छ । समग्रमा अहिलेको अवस्था पहिलेको भन्दा एकदमै राम्रो छ । पहिलेको दाँजोमा सौन्दर्यकर्मीहरु समेत बढिरहेको अवस्था छ ।
सौन्दर्य कला व्यवसायीहरुको समस्या के छ ?
अन्य क्षेत्र जस्तै कोभिड १९ पछि सौन्दर्य व्यवसाय क्षेत्र खस्किएको अवस्था छ । त्योसँगै देशमा भएको आर्थिक मन्दी, बैंकहरुले ऋण नदिनु लगायतका कारण यो क्षेत्र निकै नै प्रभावित बनेको छ । जसले गर्दा व्यापारको अवस्था पहिलेको भन्दा निकै नाजुक अवस्थामा छ ।
तपाईंको विचारमा जिल्लास्तरमा सरकारले सौन्दर्य कलाका क्षेत्रमा गर्नुपर्ने कामहरु के–के छन् ?
अन्य क्षेत्रमा भन्दा व्युटिसियनहरु तल्लो स्तरका नै छन् । सानो लगानीमा गृहिणीहरु पनि यो व्यवसायमा लागेको अवस्था छ । घरको काम गरेर पनि बाहिरको काम गर्न सक्छौँ भनेर गृहिणीहरुले यो व्यवसाय सुरु गरेको पाइन्छ । तुलनात्मक रुपमा हेर्दा सौन्दर्य क्षेत्रप्रति सरकारले बेवास्ता गरेको पाइन्छ । यदि सरकारले यो व्यवसाय गर्नुपूर्व तालिम दिएको भए उनीहरुले अझ निपुण भएर गर्न सक्थे ।
त्यसैगरी, वैदेशिक रोजगारीका क्षेत्रमा महिलाहरुको संख्या समेत बढिरहेको अवस्थामा यदि सरकारले स्वदेशभित्रै व्युटिसियनसम्बन्धि तालिम दिएर उनीहरुलाई दक्ष बनाउने हो भने उनीहरुले यहीँ केही गर्न सक्थे । यसप्रति सरकारको थोरै मात्र ध्यान गइदिए पनि यो व्यवसाय अझ फस्टाउन सक्थ्यो । यस्तै, कतिपय व्यटिसियनहरु तालिमप्राप्त छैनन् । केन्द्रबाट व्युटिसियनहरु मगाउँदा एउटा कोर्स पुरा गर्न नै ठूलो रकम खर्च गर्नुपर्ने अवस्था छ । ठूलो खर्च गरेर तालिम लिनसक्ने क्षमता ग्रामीण क्षेत्रका प्रायः व्युटिसियनहरुको हुँदैन । त्यसकारण नगरस्तरमा नै तालिमका लागि सरकारले बजेट निकाशा गर्नुपर्ने आवश्यकता देखिन्छ ।
समग्रमा हेर्दा सरकारले नयाँ उत्पादनका लागि खर्च गरेको देखिन्छ । तर एडभान्स लेभलमा तालिम दिन खर्च गरेको देखिँदैन । त्यसकारण पहिलेदेखि यो व्यवसायमा होमिसकेका सौन्दर्यकला व्यवसायीहरुलाई दक्ष बनाउनेतर्फ सरकारले ध्यान दिनु आवश्यक छ । सरकारले दिने दुई महिने तालिममा बजेट खेर गइरहेको समेत हामीले अनुभूति गरेका छौं । किनभने दुई महिने तालिम मात्र उनीहरुका लागि पर्याप्त हुँदैन । तसर्थ बेसिक लेभलमा मात्र तालिम नदिएर एडभान्स लेभलमा नै तालिम दिनु आवश्यक देखिन्छ ।
हामीले गएर तल्लो तहसम्म हेर्याैं भने सरकारले दिने तालिमबाट हालसम्म कसैले पनि व्यवसाय सञ्चालन गरेको देखिँदैन । यसका लागि हामीले प्रत्येक पटक फेरिने सरकारलाई ध्यानाकर्षण गराएका छौँ । तर कसैले पनि हाम्रो कुराको सुनुवाइ गरेको छैन । एउटा पक्ष आउँछ एउटालाई बजेट दियो, अर्काे पक्ष आयो अर्काेलाई बजेट दियो । जो आफ्नो मान्छे जान्छ उसलाई बजेट दियो । यसले कसैलाई पनि दक्ष बनाउँदैन । जो मान्छेले पहिले नै एकपटक तालिम लिएको छ, उसलाई व्यवसायिक बनाउनेतर्फ सरकारले ध्यान दिनु आवश्यक छ ।
पहिले नै जसले पार्लर खोलेर बसेका छन्, उनीहरुले फेरि तालिम लिन पाउने हक छैन ? उनीहरुले पनि कर तिरेका छैनन् ? यो कुरा मैले बारम्बार उठाएको छु । प्रत्येक पटक जिल्लामा जाँदा यही कुरा उठाउँछु । तर यसप्रति सरकारले कुनै पनि चासो दिएको पाइँदैन । यो कुरा प्रत्येक स्थानीय वा नगर तहका सरकारले चिन्तन÷मनन गर्नु आवश्यक छ । सरकारले यसतर्फ चासो दिएको खण्डमा व्युटिसियनहरु दक्ष भएर अलिकति भएपनि माथि उठ्न सक्थे । व्युटिसियन दक्ष नभएमा मानिसको स्वास्थ्यमा समेत असर पर्ने देखिन्छ । यस्तो संवेदनशील कुरामा सरकारले चासो नदिनु आफैंमा लज्जास्पद विषय हो ।
पुरा भिडियो हेर्नुहोस् :
FACEBOOK COMMENTS